काठमाडौं । शिवम् सिमेन्टको खुद नाफा १ अर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्षको ९ महिनामा शिवमले १ अर्ब ९ करोड खुद नाफा कमाएको वित्तीय विवरण प्रकाशन गरेको हो । वार्षिकीकरणका आधारमा यो नाफा प्रतिशेयर ३३.०३ रुपैयाँ बराबर हो । यो नाफा अघिल्लो वर्षको नाफाभन्दा २६.५२ प्रतिशत बढी हो ।
सो अवधिमा शिवमले ७ अर्ब ३५ करोड रुपैयाँको सिमेन्ट बिक्री गरेको छ । सिमेन्ट बिक्रीबाट आएको यो रकम अघिल्लो वर्षको भन्दा ३.८१ प्रतिशत मात्रै बढी हो । तर, कम्पनीले थप ३८ करोड रुपैयाँ बराबर अन्य आम्दानी गरेको छ । यो आम्दानी बढ्दा शिवम्को नाफा बढेको हो ।
यो अवधिमा शिवमले ३ अर्ब ५ करोड बराबरको कच्चा पदार्थ, १ अर्ब ५४ करोड बराबरको विद्युत् तथा इन्धन र कर्मचारी खर्चमा ४३ करोड ६२ लाख रुपैयाँ खर्च गरेको छ ।
अहिले दोस्रो बजारमा शिवम् सिमेन्टको शेयर १ हजार ५ सय ४५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यो मूल्यका आधारमा शिवम्को मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४६.७८ गुणा हुन आउँछ ।


