काठमाडौं । करिब ९ महिनाअघिसम्म नेपाली शेयर बजारमा कारोबार हुने अधिकांश हाइड्रोपावर कम्पनीको शेयरमूल्य रु. १०० को हाराहारीमा थियो । नयाँ जारी गरिएका हाइड्रोपावर कम्पनीहरुको आईपीओ रु. १०० मा समेत बिक्ने अवस्था थिएन भने कतिपय हाइड्रोपावर कम्पनीको शेयरमूल्य रु. ५० प्रतिकित्तासम्म आईपुगेको थियो ।
सशक्त नियामक निकायको अभाव हुनु, सयौँको संख्यामा हाइड्रोपावर कम्पनीको दर्ता भई आईपीओ जारी गर्ने क्रममा रहनु, तोकिएको भन्दा बढी आम्दानी हुने आधार नहुनु, बढ्दो आपूर्ति र स्थिरप्रायः रहने मागको अवस्थाले भावी दिनमा हाइड्रोपावरको बजार प्रभावित हुन सक्नु एवं अधिकांश हाइड्रोपावर कम्पनीहरुले समयमा वित्तीय विवरण पेश गर्न नसक्नु तथा पेश गरिएका विवरण पनि उचित नरहनु आदि कारणले हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा गिरावट आएको विश्लेषण गरिएको थियो ।
तर, अहिले अवस्था त्यस्तो छैन । समस्याहरु जस्ताको तस्तै छन् तर मूल्य एकाएक बढेको छ । दिनदिनै कतिपय हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्ने गरेको छ । अधिकांश कम्पनीहरुको शेयरमूल्य ९ महिनाअघिको तुलनामा ४ गुणाभन्दा बढी बढिसकेको छ । बुधबारको बजारमा कारोबार भएका ३९ हाइड्रोपावर कम्पनीहरुमध्ये सबैभन्दा कम शेयरमूल्य रहेको नेशनल हाइड्रोपावरको शेयर मूल्य १६८ रुपैयाँ रहेको छ भने सबैभन्दा बढी अपर तामाकोशीको ८१५ रुपैयाँ रहेको छ ।
अवस्था उही छ, सशक्त नियामक निकायको अभाव यथावत् छ, सयौँको संख्यामा हाइड्रोपावर कम्पनीको दर्ता भई आईपीओ जारी गर्ने क्रम जारी छ, तोकिएको भन्दा बढी आम्दानी हुने आधार पनि छैन, बढ्दो आपूर्ति र स्थिरप्रायः रहने मागको अवस्था झनै हावी भएको छ र त्यसले भावी दिनमा हाइड्रोपावरको बजार प्रभावित पार्न सक्ने सम्भावना झनै बढेको छ ।
अधिकांश हाइड्रोपावर कम्पनीहरुले समयमा वित्तीय विवरण पेश गर्न अझै सकेका छैनन् भने अधिकांशको नेटवर्थ रु. १०० भन्दा कम र आम्दानी ऋणात्मक छ । नगण्यलाई छोडेर हेर्ने हो भने धनात्मक भएका कम्पनीहरुले पनि प्रतिशेयर आम्दानी ४–५ रुपैयाँभन्दा बढी गर्न सकेका छैनन् । त्यसमाथि कोरोनाको महामारीले विश्व अर्थतन्त्रमै गम्भीर असर गर्ने सम्भावना रहेको छ ।
विगत १० महिनाको अवधिमा नेपालको शेयर बजारमा कारोबार भएका सबै हाइड्रोपावर कम्पनीमा लगानी गर्ने लगानीकर्ताले उल्लेख्य मुनाफा कमाइ सकेका छन् । गत श्रावण १ गते र हिजोको शेयरमूल्यको तुलना गर्ने हो भने यस अवधिमा सबैभन्दा कम बुटवल पावर कम्पनीका लगानीकर्ताले १३ प्रतिशत कमाएका छन् भने सबैभन्दा बढी रैराङ हाइड्रोपावरका लगानीकर्ताले ३५० प्रतिशतभन्दा बढी कमाएका छन् ।
यसअवधिमा यीबाहेक हिमालयन उर्जाले ३२१ प्रतिशत, छ्याङ्दी हाइड्रोले ३२० प्रतिशत, जलविद्युत् विकास कम्पनीले ३११ प्रतिशत एवं राधी जलविद्युत्ले ३०४ प्रतिशत कमाई गरिसकेका छन् ।
यस्तै, सो अवधिमा युनियन हाइड्रोपावरले २९० प्रतिशत, घलेम्दी हाइड्रोपावरले २८४ प्रतिशत, आँखुखोला जलविद्युत्ले २८२ प्रतिशत, माउन्टेन हाइड्रोले २६९ प्रतिशत, खानीखोला हाइड्रोपावरले २६१ प्रतिशत, अपर तामाकोशीले २५४ प्रतिशत एवं दिव्यश्वरी हाइड्रोपावरले २५४ प्रतिशतका दरमा शेयरमूल्यमा वृद्धि गरिसकेका छन् ।
साथै, सोही अवधिमा सिनर्जी पावरले २४९ प्रतिशत, बरुण हाइड्रोले २४१ प्रतिशत, रिडी हाइड्रोपावरले २३८ प्रतिशत, सान्जेन जलविद्युत्ले २३३ प्रतिशत, हिमालयन पावर पार्टनरले २३२ प्रतिशत, कालिका पावरले २२७ प्रतिशत, नेशनल हाइड्रोपावरले २२३ प्रतिशत, युनिभर्सल पावरले २१९ प्रतिशत, रसुवागढी हाइड्रोपावरले २१८ प्रतिशत, अरुण भ्यालीले २१८ प्रतिशत, पञ्चकन्या माईले २१३ प्रतिशत एवं अरुण काबेलीले २०२ प्रतिशत शेयरमूल्य बढाएका छन् ।
यीबाहेक सोही अवधिमा नेपाल हाइड्रो डेभलपर्सले १९१ प्रतिशत, अपि पावरले १७८ प्रतिशत, पाँचथर पावरले १७४ प्रतिशत, युनाइटेड मोदीले १७० प्रतिशतका दरमा मूल्य बढाएका छन् भने न्यादी ग्रुप पावरले १६७ प्रतिशतमा मूल्य बढाएको छ । यसअवधिमा ४ हाइड्रोपावर कम्पनीको मूल्यमा १०० प्रतिशतभन्दा कम मूल्यवृद्धि भएको छ, जसमा हिमाल दोलखा ८२ प्रतिशत, सानिमा माई हाइड्रोपावर ७४ प्रतिशत, चिलिमे ५७ प्रतिशतको मूल्यवृद्धि भएको छ भने बुटवल पावर कम्पनीको शेयरमा १३ प्रतिशतको वृद्धि भएको छ ।
यस अवधिमा हाइड्रोपावर कम्पनीहरुका शेयरमूल्यमा यतिका धेरै वृद्धि भएसकेको अवस्थामा भावी दिनमा शेयरमूल्यमा प्रभाव पर्न सक्ने देखिन्छ । यीबाहेक गत श्रावणपश्चात् आईपीओ निष्काशन गरेर बजारमा कारोबार भएका हाइड्रोपावर कम्पनीका शेयरमूल्य पुराना कम्पनीका भन्दा उच्च रहेको सन्दर्भमा वित्तिय विवरणको वास्ता नै नगरी अन्धाधुन्ध लगानी गर्नु चुनौतीपूर्ण रहेको देखिन्छ ।
यी अवस्थाहरु यथावत् रहेतापनि दिनप्रतिदिन हाइड्रोपावर कम्पनीको शेयरमूल्य भने बढेको बढ्यै छ । खासगरी हाल बजारमा ठुलो संख्यामा नयाँ लगानीकर्ताहरुको प्रवेश भएको र नेप्से परिसूचकमा तीव्रतम वृद्धि गरिएका कारण जुन शेयरमा लगानी गरेपनि घाटा व्यहोर्नु पर्दैन भन्ने भ्रम यथावत् रहेकाले शेयरबजारका खेलाडीहरुले बजारमा आफू अनुकूलका खेल खेल्न पाइरहेका छन् ।
थोरै पुँजीकरण भएका कारण बजारका खेलाडीहरुले हाइड्रोका शेयरलाई आफ्नो खेलको अस्त्र बनाएको विश्लेषण गर्न थालिएको छ । ९ महिना अगाडिको अवस्था फेरि ९ महिना पछाडि नआउला भन्न सकिँदैन । दीर्घकालीन लगानी गर्न चाहने र शेयर बजारमा स्थिर हुन चाहने लगानीकर्ताहरुले यसबारेमा सचेत हुनु जरुरी छ ।


