काठमाडौ । एक गोलले पछि परेको अवस्था उल्टाउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । क्यानाडाको टोरन्टोमा शुक्रवार बिहान भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दैं पोर्चुगलले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको ५२ औँ मिनेटमा क्रोएसियाका इभान पेरिसिचले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ६६ औँ मिनेटमा पाएको पेनाल्टीको मौका सदुपयोग गर्दै पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल बरावरीमा ल्याएका थिए ।
इन्जुरी समयको ९२ औँ मिनेटमा गोन्सालो रामोसले गोल गरेपछि पोर्चुगल २–१ ले विजयी भएको हो । खेलको अन्तिम क्षणमा क्रोएसियाले बललाई जाली चुमाएपनि भीएआर परीक्षणपछि अफसाइड ठहर हुँदा उक्त गोलले मान्यता पाएन । पोर्चुगलले प्रिक्वाटर फाइनलमा स्पेनको सामना गर्नेछ ।


