भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनमा आएको छ । तिलगंगा आँखा प्रतिष्ठान र चाँगुनारायण नगरपालिकाको सहकार्यमा स्थापना गरिएको केन्द्रको उद्घाटन बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री सुरेश श्रेष्ठले गरे ।
केन्द्र सञ्चालनसँगै चाँगुनारायण नगरपालिकाका मोतिबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराइने भएको छ । यसका लागि चाँगुनारायण नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नगर प्रमुख जीवन खत्री र प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा। रिता गुरुङले हस्ताक्षर गरेका थिए । आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई यस कार्यक्रमले प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले स्थानीय तहले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै प्रदेश सरकारबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । उनले गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको पहुँचमा पु¥याउन प्रदेश सरकार स्थानीय तहसँग सहकार्य गर्न तयार रहेको बताए ।
कार्यक्रमको अध्यक्षता गरेका नगर प्रमुख जीवन खत्रीले दुवाकोटमा सामुदायिक आँखा केन्द्र सञ्चालनमा आउनु नगरवासीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार नगरपालिकाको १८औँ नगरसभाले नगरवासीलाई निःशुल्क मोतिबिन्दु शल्यक्रिया सेवा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्दै तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गरिएको हो ।

वडा नं. २ का अध्यक्ष सोमप्रसाद प्रधानले केन्द्र सञ्चालनसँगै सामान्य आँखा परीक्षण, परामर्श, औषधि सेवा, चस्मा सम्बन्धी सेवा तथा आवश्यक परे विशेषज्ञ उपचारका लागि रेफरल सेवा स्थानीय स्तरमै उपलब्ध हुने बताए ।कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा। रिता गुरुङ, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।


तिलगंगा आँखा प्रतिष्ठानले सञ्चालनमा ल्याएको यस केन्द्रबाट चाँगुनारायण नगरपालिकासहित आसपासका क्षेत्रका नागरिकले नियमित आँखा परीक्षण, उपचार तथा परामर्श सेवा सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।



