काठमाडौं । केही सातादेखि बजारमा चम्किएको कम्पनी हो, विशाल बजार कम्पनी । अघिल्ला सातादेखि यो सातासम्म आइपुग्दा सो पनि बजारमा यो शेयरको चासो र चर्चा देखिन छोडेको छैन । कारण हो, कम्पनीको शेयरको उतारचढाव ।
यो कम्पनीले बजारमा एउटा विशेषता बोकेको छ, कि यो शेयरमा सकारात्मक सर्किट लाग्छ, कि नकारात्मक । तर, आज कुन सर्किट लाग्छ भन्ने चाहिँ बजारले भन्ने सक्दैछ । यसबारे कि त कारोबार सम्पन्न भएपछि मात्रै थाहा हुन्छ, कि ज्योतिषीलाई मात्रै ।
अप्रिल २२ मा कारोबार खुलेदेखि यो कम्पनीले अहिलेसम्म बजारमा १६ दिन कारोबार गरेको छ र योबीचमा सो कम्पनीको शेयर कि सकारात्मक सर्किट लागेको छ कि नकारात्मक । बजारमा ८ हजार २ सय ८ रुपैयाँसम्म कारोबार भइरहेको सो शेयर घटेर ४ हजार ८ सय सम्म झर्यो । पछिल्लो केही दिनदेखि मूल्य फेरि बढेर अहिले यो ५ हजार ९ सय विन्दुमा पुगेको छ ।
शेयरमा रेन्डम वाक थ्यौरी
सामान्यतया कुनै पनि शेयर स्क्रिपको मूल्य बढ्नुको कारण ३÷४ वटा हुन्छ । कम्पनीको वित्तीय अवस्था, सोही क्षेत्रका अन्य कम्पनीको अवस्था, बजार सूचना तथा मनोविज्ञान लगायत यसका कारण हुन् ।
कुनै कम्पनीको मूल्य अघिल्लो दिन सकारात्मक सर्किट लाग्दा अर्को दिन नकारात्मक सर्किट लाग्नै हुँदैन भन्ने होइन । तर, त्यसका लागि सम्बन्धित कम्पनीको प्रतिफललाई प्रभाव पार्ने सूचना प्रवाह हुनुपर्छ । तर, यो शेयरको हकमा यस्तो नयाँ खालको सूचना केही छैन, तर मूल्यमा भने दिनप्रतिदिन तीव्र उतारचढाव देखिँदै आएको छ ।
अर्थशास्त्रले कुनैपनि क्षेत्रको चक्रबारे एउटा सिद्धान्तको परिसकल्पना गरेको छ । जब बजारका मान्यताहरुले राम्रोसँग काम गर्दैन, बजार लगामबिहीन ढंगले हिँड्छ, यसको हिँडाई ‘रक्सी खाएको मान्छे’को गतिमा हुन्छ ।
अर्थात्, कहिले यो सीधै तल जान्छ, कहिले सीधै माथि जान्छ । अर्थशास्त्रले यसको नाम ‘रेन्डम वाक थ्यौरी’ दिएको छ । बजारमा अहिले विशालबजार कम्पनी त्यही बाटोमा हिँडेको छ । यस्तो बजारले उच्च लाभ र जोखिमको भएको अवस्थालाई बुझाउँछ ।



