काठमाडौं । अफ्रिकी देश गिनीमा फोहोरको थुप्रोले पुरिएर कम्तीमा ३० जनाको ज्यान गएको छ । छ जना गम्भीर घाइते भएका छन् । राजधानी कोनाक्रीस्थित सबैभन्दा ठूलो फोहोर व्यवस्थापन केन्द्रको फोहोरको थुप्रो भारी वर्षाका कारण खस्दा उनीहरुको मृत्यु भएको हो ।
अलजजिराका अनुसार भारी वर्षाका कारण ‘दार–एस–सलाम’ क्षेत्रमा फोहोरको थुप्रो खस्दा नजिकैका टहराहरू पुरिएका थिए । सरकारी अधिकारीहरूका अनुसार भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ ।
प्रधानमन्त्री अमाडो उरी बाहले घटनास्थलको निरीक्षण गर्दै घाइतेहरूको निःशुल्क उपचार तथा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने बताए ।
दार–एस–सलाम क्षेत्रका प्रमुख लान्सिने सिलाले समाचार संस्था एएफपीलाई दिएको जानकारीअनुसार १८ वटा शव निकालेर शवगृह पठाइएको छ । मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।



