काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।
बैंकले बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको खोजी, घाइतेको उपचार, तत्काल खाद्यान्न तथा अस्थायी बासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणमा सहयोग पुग्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम उपलब्ध गराउने जनाएको छ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा व्यापक कटान र डुबान निम्त्याएको छ । बाढीका कारण मानवीय तथा भौतिक क्षति हुनुका साथै बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनाहरूमा समेत क्षति पुगेको छ ।
बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, बेपत्ताको खोजी तथा प्रभावित परिवारको राहत र पुनर्स्थापनामा राज्य तथा सम्बन्धित निकायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
बैंकले राष्ट्रिय संकट र विपद्को समयमा नागरिकलाई सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा रहेको जनाएको छ । यसअघि पनि देशका विभिन्न क्षेत्रमा भएका बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीका समयमा बैंकले आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको छ ।
ग्लोबल आइएमई बैंक हाल मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा रहेको छ । बैंकले देशभर ३४१ शाखा कार्यालय, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा तथा अन्य सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।



