images
images

साउनमा मुद्रास्फीति ५.९६ प्रतिशत, डेढ वर्षयताकै उच्च बिन्दुमा


  • 169
    SHARES
  • २०८३ आश्विन ३ गते शनिबार

    साउनमा मुद्रास्फीति ५.९६ प्रतिशत, डेढ वर्षयताकै उच्च बिन्दुमा

    काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै मुलुकमा महँगी उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ ।

    यो पछिल्लो डेढ वर्षयताकै उच्च मुद्रास्फीति हो । यसअघि २०८१ मंसिरमा महँगी ६.०५ प्रतिशत पुगेको थियो । गत आर्थिक वर्षको साउनमा भने मुद्रास्फीति १.६८ प्रतिशत मात्र थियो ।

    राष्ट्र बैंकको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार साउनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ६.७७ प्रतिशत पुगेको छ । गैरखाद्य तथा सेवा समूहमा भने यस्तो वृद्धि ५.५२ प्रतिशत रहेको छ ।

    खाद्य समूहअन्तर्गत सबैभन्दा धेरै मूल्यवृद्धि घिउ तथा तेलमा देखिएको छ । साउनमा घिउ तथा तेलको उपभोक्ता मूल्य सूचकांक १५.६२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै फलफूलको मूल्य १५.३९ प्रतिशत, माछा तथा मासुको ८.६५ प्रतिशत, तरकारीको ६.९० प्रतिशत र मरमसलाको ४.८० प्रतिशतले बढेको छ ।

    गत वर्षको साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.२८ प्रतिशतले ऋणात्मक थियो । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ३.९५ प्रतिशत रहेको थियो ।

    यसैबीच, अर्थतन्त्रको समग्र गति अपेक्षाअनुसार अघि नबढे पनि बाह्य आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरू थप सुदृढ बनेको राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकका अनुसार साउनसम्म मुलुकको कुल विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २५ अर्ब ८४ करोड रहेको छ । विद्यमान सञ्चितिले १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।

    समीक्षा अवधिमा चालु खाता ९४ अर्ब ५९ करोड रुपैयाँ र शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड रुपैयाँ बचतमा रहेको छ ।


    images
    images

    Logo