काठमाडौँ, ४ असोजः उपचारका लागि दैनिक सात सयभन्दा बढी बिरामी पुग्ने भक्तपुर क्यान्सर अस्पतालमा आवश्यक पूर्वाधारको अभाव हुँदा भर्ना भएर उपचार गर्नुपर्ने बिरामीसमेत फर्किनुपर्ने अवस्था आएको छ ।
अस्पतालमा क्यान्सर उपचारका अधिकांश सेवा उपलब्ध भए पनि बिरामी राख्ने शय्या पर्याप्त नहुँदा उपचार सेवा प्रभावित भएको अस्पतालले जनाएको छ । साँघुरो ठाउँमा अस्पताल सञ्चालन गर्नुपरेकाले सेवा विस्तार गर्न नसकिएको अस्पतालका कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले बताए ।
“हामीसँग क्यान्सरको उपचारका सेवा सबै उपलब्ध छन्, तर बिरामी राख्ने ठाउँ नभएर उपचार दिन सकेका छैनौँ”, उनले भने ।
उहाँका अनुसार दैनिक करिब ३० जना क्यान्सरका बिरामीलाई भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था रहे पनि शय्या अभावका कारण समस्या भइरहेको छ । तीमध्ये करिब १५ जनालाई भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ भने १५ जना डे–केयरमा उपचार गराउनुपर्ने हुन्छ ।
अस्पतालमा शल्यक्रिया तथा रेडियसनका लागि समेत बिरामीले करिब दुई सातासम्म कुर्नुपर्ने अवस्था छ । उपचारका लागि लामो समय कुर्नुपर्दा कतिपय बिरामी महँगो उपचारका लागि निजी अस्पताल तथा भारतसम्म जान बाध्य भएका छन् ।
“सेवा प्रदान गर्ने क्षमता भए पनि हामीसँग पूर्वाधार छैन”, डा चालिसेले भने “पूर्वाधार अभावले गरिब तथा विपन्न बिरामीको उपचार गर्न नपाएर फर्काउनुपरेको छ । ती बिरामी ऋण खोजेर निजी तथा भारतका अस्पतालमा उपचार गर्न जान बाध्य छन् ।”
अस्पतालमा क्यान्सर उपचारका लागि आवश्यक करिब ९० प्रतिशत सेवा उपलब्ध भए पनि शय्या अभावका कारण बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको उनले बताए ।
नेपाल अर्बुद रोग निवारण सङ्घले सञ्चालन गर्दै आएको उक्त अस्पताललाई सरकारले २०७७ सालमा विकास समितिअन्तर्गत ल्याएर सरकारी अस्पतालका रूपमा सञ्चालन गरेको हो । हाल अस्पताल भक्तपुर अस्पतालको जग्गामा सङ्घले निर्माण गरेको भौतिक संरचनाबाट सञ्चालन भइरहेको छ ।
अस्पताललाई उपयुक्त स्थानमा सारेर क्षमता विस्तार गर्न सरकारले जग्गा उपलब्ध गराउनुपर्ने माग गर्दै पटकपटक आग्रह गरे पनि सुनुवाइ नभएको डा चालिसेले बताए ।
“सरकारले हामीलाई उपयुक्त ठाउँमा जग्गा उपलब्ध गराएर भवन बनाइदिए दैनिक बिरामीलाई फर्काउनुपर्ने अवस्था आउने थिएन”, उनले भने “हामी उपचार गर्न सक्षम भए पनि ठाउँको अभावमा बिरामीलाई उपचार दिन नसक्दा दुःख लाग्छ ।”
क्यान्सर अस्पतालका लागि भक्तपुरमा तीन स्थानमा जग्गा हेरिएको अस्पतालले जनाएको छ । चाँगुनारायणको छालिङ, सूर्यविनायक र मूलपानीमा जग्गा हेरिए पनि हालसम्म जग्गा प्राप्ति प्रक्रिया टुङ्गिएको छैन ।
एक सय ६५ शय्या रहेको अस्पतालमा अहिले दैनिक सात सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालका अनुसार यो सङ्ख्या गत वर्षको तुलनामा दोब्बर हो ।
“अस्पतालले प्रदान गर्ने सेवा गुणस्तरीय भएकाले होला, अहिले गत वर्षभन्दा दोब्बर बिरामी आउने गरेका छन्”, डा चालिसेले भने , “दोब्बर बिरामीलाई उपचार गर्न सक्षम भए पनि पूर्वाधारको कमी छ ।”
अस्पतालमा उपचारका लागि आउनेमध्ये करिब ८० प्रतिशत क्यान्सरका बिरामी छन् । दैनिक आठदेखि १० जनासम्मको शल्यक्रिया, करिब ७० जनालाई किमोथेरापी र करिब एक सय ५० जनालाई रेडियसन सेवा दिनुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ ।
साँघुरो ठाउँमा अस्पताल सञ्चालन गर्नुपर्दा बिरामीलाई सहज रूपमा उपचार सेवा दिनसमेत कठिन भएको छ ।
“यति सानो ठाउँमा क्यान्सरका बिरामीको उपचार गर्न मिल्दैन, तर पनि बाध्य भएर साँघुरो ठाउँमा गुणस्तरीय सेवा दिइरहेका छौँ”, डा चालिसेले भने ।



