काठमाडौं । देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले देशका अधिकांश भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ ।
हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली देखिएको छ । बागमतीका केही स्थान तथा कोशी, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ । ती क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ भने तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
यस्तै, आज राति हिमाली तथा पहाडी भूभागमा सामान्य बदली र तराईमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
रातिको समयमा कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका एक–दुई स्थानमा समेत मध्यम वर्षाको सम्भावना रहेको छ ।



