काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा १ लाख ३० हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार साउन र भदौमा गरी १ लाख ३० हजार ४८३ जनाले अन्तिम श्रम स्वीकृति लिएका हुन्। साउनमा ७० हजार ४४१ जनाले श्रम स्वीकृति लिएकोमा भदौमा यो संख्या घटेर ६० हजार ४२ मा सीमित भएको छ।
भदौमा श्रम स्वीकृति लिनेमा ५१ हजार ८४३ पुरुष र ८ हजार १९९ महिला रहेका छन्। तीमध्ये ३५ हजार ६२७ जनाले पहिलोपटक वैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिएका छन् भने २४ हजार ४१५ जनाले बिदामा नेपाल फर्किएपछि पुनः श्रम स्वीकृति लिएका छन्।
गन्तव्य मुलुकतर्फ हेर्दा भदौमा सबैभन्दा धेरै नेपाली संयुक्त अरब इमिरेट्स (यूएई) गएका छन्। यूएईका लागि १५ हजार ५४२ पुरुष र २ हजार ९३५ महिलासहित १८ हजार ४७७ जनाले श्रम स्वीकृति लिएका छन्।
त्यसपछि कतारका लागि १० हजार ४७१, मलेसियाका लागि ८ हजार ९१, साउदी अरेबियाका लागि ६ हजार ७८७ र कुवेतका लागि ३ हजार ८९८ जनाले श्रम स्वीकृति लिएका छन्।
यस्तै, रोमानियाका लागि १ हजार ७९३, जापानका लागि १ हजार १३० र ओमानका लागि १ हजार ९५ जनाले श्रम स्वीकृति लिएका छन्। दक्षिण कोरियाका लागि सरकारी प्रक्रियामार्फत जाने ७८९ जनासहित कुल ९०३ जनाले श्रम स्वीकृति पाएका छन्।
जिल्लागत रूपमा मधेस र कोशी प्रदेशका जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढी देखिएको छ। सबैभन्दा धेरै धनुषाबाट ३ हजार १६ जनाले श्रम स्वीकृति लिएका छन्। झापाबाट २ हजार ७१६, मोरङबाट २ हजार ६९०, सिरहाबाट २ हजार ३४९, महोत्तरीबाट २ हजार २८१, सुनसरीबाट २ हजार २२६ र रुपन्देहीबाट २ हजार १० जनाले श्रम स्वीकृति लिएका छन्।
हिमाली जिल्लाबाट भने वैदेशिक रोजगारीमा जानेको संख्या तुलनात्मक रूपमा न्यून रहेको छ। भदौमा मनाङबाट १३, मुस्ताङबाट २३ र हुम्लाबाट ३७ जनाले मात्र श्रम स्वीकृति लिएका छन्।
वैदेशिक रोजगारीमा जाने श्रमिकमध्ये दक्ष जनशक्तिको हिस्सा सबैभन्दा बढी छ। विभागका अनुसार भदौमा श्रम स्वीकृति लिने ६० हजार ४२ जनामध्ये ३४ हजार १६७ जना अर्थात् ५६.९ प्रतिशत दक्ष श्रमिक छन्।
त्यस्तै, १६ हजार ५८ जना अदक्ष, ९ हजार ४६६ जना अर्धदक्ष, २७१ जना व्यावसायिक र ८० जना उच्च दक्ष श्रमिक रहेका छन्।
भदौमा नयाँ श्रम स्वीकृति लिने ३५ हजार ६२७ जनामध्ये २५ हजार ४१५ जनाले म्यानपावर कम्पनीमार्फत तथा ९ हजार २२४ जनाले व्यक्तिगत प्रक्रियाबाट श्रम स्वीकृति लिएका छन्।



