काठमाडौं । बाढी तथा पहिरोका कारण बागमती र कोशी प्रदेशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार केही सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ भने केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् ।
बागमती प्रदेशअन्तर्गत काभ्रेको खुक–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बीपी राजमार्ग प्रभावित भएको छ । उक्त सडकखण्डमा सवारी सञ्चालनको अवस्था हेरी समयअनुसार आवागमन व्यवस्थापन भइरहेको प्रहरीले जनाएको छ ।
रसुवामा बाढीका कारण मुख्य राजमार्गका विभिन्न सडकखण्ड प्रभावित भएका छन् । अर्को सूचना जारी नभएसम्मका लागि राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा टोखा–छहरे सडकखण्ड बाढी तथा पहिरोको जोखिममा रहेको छ । उक्त सडकमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।
त्यस्तै, नुवाकोटकै विदुर नगरपालिका–१० सिमटारमा पासाङ ल्हामु सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० ज्वालामुखी र शीतलबजार क्षेत्रमा पहिरोका कारण पृथ्वी लोकमार्ग प्रभावित भएको छ । दुवै स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, कोशी प्रदेशको संखुवासभास्थित मकालु गाउँपालिका–४ नेता भीरमा पहिरोका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार सडकको अवस्था तथा मौसमअनुसार अवरोध भएका सडकखण्डमा यातायात सञ्चालन र व्यवस्थापनका लागि आवश्यक समन्वय भइरहेको छ ।




