images
images

२०औँ एसियाली खेलकुद आजदेखि, नेपालका १३५ खेलाडी सहभागी


  • 351
    SHARES
  • २०८३ आश्विन ३ गते शनिबार

    २०औँ एसियाली खेलकुद आजदेखि, नेपालका १३५ खेलाडी सहभागी

    काठमाडौं । जापानको आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुने २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन आज हुँदैछ । ‘आइची–नागोया २०२६’ नाम दिइएको प्रतियोगिता सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म सञ्चालन हुनेछ ।

    स्थानीय समयअनुसार आज साँझ ६ बजे नागोयास्थित पालोमा मिजुहो रंगशालामा उद्घाटन समारोह आयोजना हुनेछ । उद्घाटनअघि नै केही खेलका प्रतिस्पर्धा भने सुरु भइसकेका छन् ।

    यस संस्करणमा ४३ खेलका ७१ विधामा ४६९ स्पर्धा हुनेछन् । सर्फिङ, मिश्रित मार्सल आर्ट्स, प्याडेल, टेकबल र भर्चुअल तेक्वान्दोजस्ता खेललाई नयाँ रूपमा समावेश गरिएको छ । यस्तै ई–स्पोर्ट्स र ब्रेकिङले पनि निरन्तरता पाएका छन् ।

    जापानले तेस्रोपटक एसियाली खेलकुद आयोजना गर्न लागेको हो । यसअघि टोकियोले सन् १९५८ र हिरोसिमाले सन् १९९४ मा एसियाली खेलकुद आयोजना गरेका थिए ।

    यसपटकको प्रतियोगिता ५४ वटा खेलस्थलमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी खेलाडी तथा अधिकारीका लागि परम्परागत ‘खेलाडी गाउँ’ भने बनाइएको छैन । उनीहरूलाई होटल, अस्थायी संरचना र क्रुज पानीजहाजमा राख्ने व्यवस्था गरिएको छ ।

    नेपालबाट १३५ खेलाडी

    एसियाली खेलकुदमा नेपालबाट २१ खेलका १३५ खेलाडीले सहभागिता जनाउँदैछन् । नेपाली टोलीमा ५७ महिला र ७८ पुरुष खेलाडी छन् । यस्तै २९ प्रशिक्षक, १७ व्यवस्थापक र २ खेल प्राविधिक सहभागी हुनेछन् ।

    नेपालबाट आर्चरीमा २, एथलेटिक्समा ६, ब्याडमिन्टनमा ४, बक्सिङमा ७, क्रिकेटमा १५, साइक्लिङमा २, गल्फमा ४, जुडोमा ६, कबड्डीमा २४, करातेमा ८, र्‍याफ्टिङ तथा क्यानोइङमा २, स्केट तथा स्केटबोर्डिङमा २, सफ्ट टेनिसमा ४, स्क्वासमा २, पौडीमा ५, टेबलटेनिसमा ६, तेक्वान्दोमा ३, टेनिसमा ५, भलिबलमा १२, कुस्तीमा ६ र उसुमा १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

    नेपालको महिला भलिबल टोली भने प्रतियोगितामा पदकको दौडबाट बाहिरिसकेको छ ।

    आवास र यातायातमा प्रश्न

    प्रतियोगिता सुरु हुनुअघि नै खेलाडीको आवास र यातायात व्यवस्थालाई लिएर केही प्रश्न उठेका छन् । केही खेलाडीले साना ओछ्यान, साँघुरो कोठा तथा पुरुष र महिला खेलाडीलाई एउटै कोठामा राखिएको भन्दै गुनासो गरेका छन् ।

    इटालीको ‘कोस्टा सेरेना’ क्रुज पानीजहाजमा करिब ४ देखि ५ हजार खेलाडीलाई राख्ने व्यवस्था गरिएको छ । जहाजमा ५७१ क्याबिन, सात पौडी पोखरी र आठ रेस्टुरेन्ट छन् । त्यस्तै, करिब २ हजार खेलाडी तथा अधिकारीलाई नागोयाको गार्डेन पियर क्षेत्रमा तयार पारिएका अस्थायी काठका संरचनामा राखिनेछ ।

    यातायाततर्फ दक्षिण कोरियाको पुरुष फुटबल टोली गलत स्थानमा पुर्‍याइँदा प्रशिक्षण ३० मिनेट ढिलो भएको घटना सार्वजनिक भएको छ । नागोयामा भएको भारी वर्षाका कारण केही खेलाडीलाई अस्थायी रूपमा सुरक्षित स्थानमा समेत सारिएको थियो ।

    केही खेलमा ओलम्पिक छनोटसँग जोडिएको अवसर

    यस संस्करणको एसियाली खेलकुद केही खेलका लागि सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक छनोटसँग समेत जोडिएको छ ।

    हक्कीमा पुरुष र महिला दुवैतर्फका स्वर्ण पदक विजेताले ओलम्पिकमा प्रत्यक्ष स्थान बनाउने अवसर पाउनेछन् । स्क्वासका साथै धनुर्विद्या, नौकायन, टेनिस, ट्रायथलन र सर्फिङमा समेत एसियाली खेलकुदको प्रदर्शन ओलम्पिक छनोटसँग सम्बन्धित हुनेछ ।

    एसियाली खेलकुदमा चीनको दबदबा रहँदै आएको छ । सन् १९८२ यता चीन हरेक संस्करणमा पदक तालिकाको शीर्ष स्थानमा रहँदै आएको छ । सन् २०२३ मा चीनको हाङजाउमा भएको पछिल्लो संस्करणमा चीनले २०१ स्वर्ण, १११ रजत र ७१ कांस्यसहित ३८३ पदक जितेको थियो । जापान १८८ पदकसहित दोस्रो स्थानमा रहेको थियो ।

    यसपटक नयाँ खेलको प्रवेश, ओलम्पिक छनोटसँगको सम्बन्ध र विभिन्न देशका खेलाडीको प्रदर्शन एसियाली खेलकुदका प्रमुख आकर्षण बन्नेछन् ।


    images
    images

    Logo