images
images

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४ सय ३६ पुग्यो


  • 121
    SHARES
  • २०८३ आश्विन ४ गते आइतबार

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४ सय ३६ पुग्यो

    काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ४ सय ३६ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार बिहान ५ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ४ सय ३६ जनाको शव फेला परेको हो ।

    फेला परेका शवमध्ये रसुवामा २ सय २३, नुवाकोटमा २ सय ३, धादिङमा ७२, चितवनमा ३ सय ६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव फेला परेको छ । यस्तै, काठमाडौंमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया अघि बढाइएको छ । हालसम्म १ हजार २ सय ९२ वटा शव व्यवस्थापन गरिएको छ ।

    शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ९७ गरी कुल ३ हजार २ सय ८३ वटा डीएनए नमुना संकलन गरिएको छ । पहिचान हुन नसकेका १ हजार ३ सय ६२ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ ।

    बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ ।

    प्रहरीका अनुसार अझै ४ हजार ६ सय ५५ जना बेपत्ता छन् । उनीहरूको खोजी कार्य जारी रहेको छ । यस्तै, विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा १ हजार ४ सय ८६ जना राखिएका छन् ।


    images
    images

    Logo