images
images

रसुवा बाढीपछि मुस्ताङको पर्यटनमा असर, एक महिनामै २९ हजार पर्यटक घटे


  • 154
    SHARES
  • २०८३ आश्विन ४ गते आइतबार

    रसुवा बाढीपछि मुस्ताङको पर्यटनमा असर, एक महिनामै २९ हजार पर्यटक घटे

    मुस्ताङ, ४ असोज । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि हिमाली जिल्ला मुस्ताङको पर्यटन आगमनमा समेत उल्लेख्य असर परेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कअनुसार साउनको तुलनामा भदौमा मुस्ताङ आउने पर्यटकको सङ्ख्या २९ हजार २७४ ले घटेको छ।

    कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक बाढी, पहिरो र नदी कटानका कारण साउनमा पटकपटक अवरुद्ध भए पनि त्यसको तुलनामा पर्यटक आगमन उल्लेख्य थियो। तर, रसुवाको बाढीपछि भदौमा मुस्ताङ आउने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको प्रहरीको तथ्याङ्कले देखाएको छ।

    प्रहरीका अनुसार साउनमा ६१ हजार २६३ पर्यटक मुस्ताङ पुगेका थिए। भदौमा भने यो सङ्ख्या घटेर ३१ हजार ९८९ मा सीमित भएको छ। अर्थात् साउनको तुलनामा भदौमा पर्यटक आगमन ४७.७८ प्रतिशतले घटेको हो।

    म्याग्दी–मुस्ताङ सीमास्थित घाँसा प्रहरी चौकीको तथ्याङ्कअनुसार साउनमा ३० हजार ६५५ आन्तरिक, ३१ हजार ५७५ सार्क राष्ट्रका र १९३ अन्य मुलुकका पर्यटक मुस्ताङ पुगेका थिए।

    भदौमा भने आन्तरिक पर्यटकको सङ्ख्या १६ हजार ५०३ र सार्क राष्ट्रका पर्यटक १५ हजार १३८ मा झरेका छन्। अन्य मुलुकका पर्यटक भने बढेर ३४८ पुगेका छन्।

    जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार साउनको तुलनामा भदौमा आन्तरिक पर्यटक १४ हजार १५२ अर्थात् ४६.१६ प्रतिशत र सार्क राष्ट्रका पर्यटक १६ हजार ४३७ अर्थात् ५२.०५ प्रतिशत ले घटेका छन्।

    तर, अन्य मुलुकबाट आउने पर्यटकको सङ्ख्या भने बढेको छ। साउनमा १९३ जना अन्य मुलुकका पर्यटक मुस्ताङ पुगेकामा भदौमा ३४८ जना पुगेका छन्। यो अघिल्लो महिनाको तुलनामा १५५ जनाले बढी हो।

    दुई महिनामा ९३ हजारभन्दा बढी पर्यटक

    चालु आर्थिक वर्षको साउन र भदौमा गरी मुस्ताङमा ९३ हजार २५२ आन्तरिक तथा बाह्य पर्यटक पुगेका छन्।

    यस अवधिमा ४७ हजार १५८ आन्तरिक, ४६ हजार ७१३ सार्क राष्ट्रका र ४४१ अन्य मुलुकका पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्।

    प्रहरी निरीक्षक बस्यालले भदौ १० गते रसुवामा भएको बाढीको घटनापछि देशभर शोकको अवस्था सिर्जना भएकाले पनि मुस्ताङमा पर्यटक आगमन प्रभावित भएको हुनसक्ने बताए।

    यद्यपि, गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा चालु आर्थिक वर्षको साउन र भदौमा मुस्ताङ आउने पर्यटकको समग्र सङ्ख्या बढेको छ। गत आव २०८२/८३ को साउनमा १९ हजार ७८१ र भदौमा २३ हजार २०५ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए।

    यस वर्ष साउनमा पर्यटक आगमन उत्साहजनक रहे पनि भदौमा भने एकै महिनामा करिब आधा पर्यटक घट्नुले मुस्ताङको पर्यटनमा प्राकृतिक विपद्को मनोवैज्ञानिक तथा यातायातजन्य असर देखिएको छ।




    images
    images

    Logo