काठमाडौं । कोभिड-१९ को उपचारमा प्रयोग हुने अक्सिजन लगायतका सामान भन्सारमा रोकिएपछि अर्थ मन्त्रालयले नयाँ कार्यविधि ल्याएको छ । प्रक्रियागत झन्झटका कारण रोकिएका त्यस्ता सामानको जाँचपास गराउन अर्थ मन्त्रालयले संक्षिप्त कार्यविधि जारी गरेको हो ।
सोमबार अर्थ मन्त्रालयले भन्सार विभागका अधिकारीहरुसँग भर्चुअल रुपमा छलफल गर्दै उक्त कार्यविधि अनुसार सामानको जाँचपास गर्न निर्देशन दिएको हो । मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री विष्णु पौडेल, अर्थसचिव शिशिर ढुंगाना, राजश्व सचिव रामशरण पुडासैनी तथा भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक लगायत मन्त्रालयका अधिकारीहरु सहभागी थिए ।
उक्त छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड-१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन्।
भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरुलाई नेपाल सरकार, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपूर्जा लगायतका सामग्रीहरुको बिना झन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिएका हुन् ।
पौडेलले कोभिड १९ महामारीबाट जोगिनुपर्ने र अर्कातिर प्रभावकारी रुपमा कार्य सम्पादन गर्नुपर्ने अवस्था रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न कर्मचारीहरुलाई आग्रह गरे। उनले कोभिडको उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्य सहित दैनिक रुपमा जानकारी गराउन पनि निर्देशन दिए ।
अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कोभिड(१९ को रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सामग्रीहरुको भन्सार जाँचपास सम्बन्धी संक्षिप्त कार्यविधि जारी गरी लागू गर्न निर्देशन दिए।
राजस्व सचिव रामशरण पुडासैनीले छिटो जाँचपासका लागि छिमेकी मुलुकको भन्सार कार्यालयहरुसँग समन्वय गरी चौबिसै घण्टा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिए ।
कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भूसालले अत्यावश्यक वस्तुहरुको आपूर्तिलाई सहज बनाउन विभागले क्विक रेस्पोन्स टिम बनाएर काम गरेको जानकारी दिनु भएको थियो ।


