काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनप्रति नेपाल पूँजी बजार लगानीकर्ता संघले आपत्ति जनाएको छ । लघुवित्तको शेयर खरिबिक्रीमा कडाई गर्नेगरी मंगलबार राष्ट्र बैंकले निर्देशन जारी गरेको थियो । सो निर्देशनमा बैंक तथा वित्तीय संस्थाले लघुवित्त कम्पनीको साधारण शेयर ६ महिनाभित्र बेचिसक्न भनिएकोप्रति संघले आपत्ति जनाएको हो ।
संघले लघुबित्तमा बैंकहरुलाई लगानीमा कडाई गर्नु राम्रो भएपनि ढिलो र कडा रुपमा निर्देशन आएको र अहिले रहेको शेयर समेत बिक्री गर्न ६ महिना मात्रैको समय दिनु आपत्तिजनक रहेको जनाएको हो । संघले निर्देशन पुर्नमुल्याङ्कन गरी बैंक तथा वित्तीय संस्थाले किनेको लघुवित्तको शेयर २०८० साल असार मसान्तसम्म बिक्री गर्ने समय दिनुपर्ने माग गरेको छ ।
अहिले राष्ट्र बैंकले दिएको निर्देशन मौलाउदै गएको सेयर बजारलाई ब्रेक लगाउन आएको आरोप समेत संघको छ । संघले कम मूल्य भएका राम्रा कम्पनीको शेयरमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहन हुने कार्यक्रम ल्याउन माग समेत गरेको छ ।


