काठमाडौं । बैंक तथा वित्तीय संस्थाले गर्ने शेयर कारोबारमा कडाई गरेपछि बजारका लगानीकर्ताहरु आत्तिएका छन् । उनीहरुले राष्ट्र बैंकको निर्णयले आजको शेयर बजारमा ठूलो करेक्सन आउने संकेत गरेका छन् ।
बजारमा क्रियाशील लगानीकर्ता संघका प्रतिनिधिहरुदेखि शेयर बजारमा विज्ञहरुले समेत अहिलेको अवस्थामा राष्ट्र बैंकको निर्देशनले बजारलाई करेक्सनको दिशामा लैजानसक्ने संकेत गरेका छन् ।
के के थियो संशोधन ?
मंगलबार राष्ट्र बैंकले तेस्रो त्रैमासिक समीक्षाले निर्दिष्ट गरे अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको लागि जारी भएको एकीकृत निर्देशनमा संशोधन गर्दै मूलतः २ वटा व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकले जारी गरेका निर्देशनका १६ बुँदामध्ये बुँदा नम्बर ७ र ८ लगानीकर्ताका लागि अप्रिय लागेको छ । बुँदा नम्बर ७ मा बैंक तथा वित्तीय संस्थाले कुनै पनि शेयर वा डिबेञ्चरमा कम्तीमा १ वर्षसम्म मात्रै लगानी गर्न पाइने उल्लेख गरिएको छ ।
सोही बुँदालाई थप प्रष्ट पार्दै बुँदा नम्बर ८ मा राष्ट्र बैंकले १ वर्ष व्यतित भएका शेयरहरु पनि प्राथमिक पुँजीको १ प्रतिशत भन्दा धेरै खरिदबिक्री गर्न नपाउने उल्लेख गरिएको छ । यद्यपि मंगलबारसम्म खरिद गरिएका शेयर बेच्न बैंकहरुलाई राष्ट्र बैंकले छुट दिएको छ ।
बुँदा नम्बर ८ मै बैंक तथा वित्तीय संस्थाले लघुवित्त कम्पनीको साधारण शेयरमा लगानी गर्न नपाइने उल्लेख गरिएको छ । सो बुँदामा हालसम्म रहको साधारण शेयरलाई समेत आगामी पुससम्म बिक्री गर्न भनिएको छ ।

निर्देशन किन ?
कोरोनाभाइरस महामारीसँगै यतिबेला बैंक तथा वित्तीय संस्थाहरु रकम जम्मा र सहटीको मा मात्रै गर्दै आएका छन् । यसको अर्थ बैंक तथा वित्तीय संस्थाका जनशक्तिहरु यतिबेला फुर्सदमा छन् । ऋण लगानी बन्द भएका कारण समग्र बैंकको गतिविधि समेत प्रभावित भएको छ ।
यस्तो अवस्थामा बैंकको ध्यान उचालिँदो शेयर बजारतिर गएको छ । बजारमा उच्च नाफा भएकोले र अरु गतिविधि ठप्प हुँदा बैंकहरु शेयर किनबेचतिर अघि बढेको राष्ट्र बैंकको अनुमान छ । यमा अंकुश लगाउन राष्ट्र बैंकले यस्तो कदम चालेको हो ।
उता लघुवित्त संस्थाहरुको शेयर उचालिनुमा पनि बैंकहरुको लगानी नै प्रमुख कारण रहेको राष्ट्र बैंकको निष्कर्ष छ । ‘ओभरभ्यालुड’ भइसकेको कम्पनीमा लगानी गर्दा बजार क्र्यास हुनुक्ने र यसले वित्तीय प्रणालीमै समस्या ल्याउनसक्ने अनुमानका आधारमा यी महत्वपूर्ण २ निर्णय गरिएको हो ।
यसपालि मौद्रिक नीतिको त्रैमासिक समीक्षामा यसपालि राष्ट्र बैंकले शेयर बजारलाई झुक्याइदिएको छ । समीक्षामा उल्लेख नै नभएको विषयलाई एकीकृत निर्देशनमा ल्याएर राष्ट्र बैंकले शेयर बजारको गलत प्रवृत्तिमाथि कैँची चलाएको हो ।
कस्तो पर्ला प्रभाव ?
राष्ट्र बैंकको पहिलो निर्देशनसँगै बजारमा बैंक तथा वित्तीय संस्थाले शेयरको सप्लाई बढाउने निश्चित छ । मागभन्दा आपूर्ति धेरै हुँदा यसले बजारलाई नकारात्मक दिशामा लैजाने सहज अनुमान गर्न सकिन्छ । पुँजी बजारका जानकारहरु पनि तत्कालिन रुपमा यसको नकारात्मक असर नै देखिने बताउँछन् ।
अब असार मसान्त आउन करिब डेढ महिना मात्रै बाँकी छ । बैंकले मंगलबारसम्म किनेका शेयर असारसम्म बिक्री गर्न पाउने नभए एक वर्ष होल्ड गर्नुपर्ने व्यवस्थाका कारण बैंकहरु अब धमाधम शेयर बिक्री गर्नतिर लाग्छन् । बजार उच्च बिन्दुमा रहेको बेला बैंकलाई बजारबाट बाहिरिने एउटा महत्वपूर्ण अवसर पनि हो ।
उता, लघुवित्त संस्थामा रहेको सबै साधारण शेयरहरु पुस मसान्तसम्म बिक्री गरिसक्नुपर्ने भएकोले यसले लघुवित्तको शेयरको सप्लाई झनै बढाउँछ । यसले लघुवित्तका शेयरधनीलाई बढी ‘प्यानिक’ बनाउनसक्ने अनुमान विज्ञहरुको छ ।
अप्रत्यक्ष लगानी रोकिएको छैन
बैंक तथा वित्तीय संस्थाले दीर्घकालीन रुपमा मात्रै शेयर बजारमा लगानी गर्न पाउने व्यवस्था भए पनि अप्रत्यक्ष रुपमा अहिले पनि अल्पकालिन रुपमा लगानी गर्न पाउने सम्भावना छ । आफ्ना सहायक कम्पनीहरुमार्फत् बैंकहरुले यस्तो लगानी गर्न सक्छन् । मर्चेन्ट बैंकर, म्युचुअल फण्ड लगायतले गर्ने लगानीबाट आउने अधिकांश नाफा बैंकहरुमै जान्छ । तर, बैंकहरुको प्रत्यक्ष लगानी भने अब दीर्घकालीन रुपमा मात्रै हुनेछ ।
यो व्यवस्थाले बजार बजारमा हुने कृतिम र अस्वस्थ कारोबार कम गर्न मद्दत गर्ने भएकोले यसले दीर्घकालीन विकासका लागि सहयोग पुर्याउने विषयमा भने विज्ञहरु एकमत छन् ।


