काठमाडौं । शेयर बजारमा प्रवेश गरेर छिटै नाफा कमाउने र बाहिरिने प्रवृत्तिविरुद्ध आर्थिक वर्ष २०७८÷७९ को बजेटले नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई १ वर्षभन्दा छोटो अवधिका लागि शेयर खरिद गर्नै नपाउने र लघुवित्त संस्थाहरुमा भएको शेयरलाई आगामी पुसभित्र बिक्री गरिसक्नुपर्ने नियम बनाएको केही दिनमै बजेटले अर्को व्यवस्था गरेको हो ।
बजेटमा अब ३ सय ६५ दिनभन्दा छोटो अवधि होल्ड गरेर शेयर बिक्री गर्नेको पुँजीगत लाभकर २.५ प्रतिशत विन्दुले बढाएर ७ प्रतिशत पुर्याएको छ । ३६५ दिन होल्ड गर्नेका हकमा भने अहिलेको पुँजीगत लाभकरलाई ५ प्रतिशतमा यथावत राखिएको छ ।
यो व्यवस्था आगामी साउन १ गतेदेखि लागु हुनेछ । साउन १ गतेदेखि शेयर कारोबार गर्ने व्यक्ति लगानीकर्ता हो कि कारोबारी भन्ने छुट्याएको छ । अर्थात्, ३ सय ६५ दिनसम्म होल्ड गरेर शेयर बेच्नेलाई लगानीकर्ता र सोभन्दा कम समय मात्रै होल्ड गर्नेलाई कारोबारीको रुपमा बजेटले स्वतः परिभापित गरिदिएको छ ।


