images
images

मैनिहिया सबस्टेशनको सुरुआतसँगै विद्युत् अनियमितामा कमी आउने विश्वास


  • 431
    SHARES
  • २०७९ आषाढ २५ गते शनिबार

    मैनिहिया सबस्टेशनको सुरुआतसँगै विद्युत् अनियमितामा कमी आउने विश्वास

    सिद्धार्थनगर । बाह्र वर्षअघि थालनी गरिएको गोरुसिङ्गे–बुटवल–लुम्बिनी १ सय ३२ केभिएले पूर्णता पाएको छ । आयोजनाअन्तर्गतको मैनिहिया सबस्टेशनको सुरुआतसँगै रुपन्देहीको दक्षिणी क्षेत्रमा भइरहेको विद्युतीय समस्या समाधान हुने देखिएको छ ।बुटवल–गोरुसिङ्गे–लुम्बिनी १ सय ३२ केभिए आयोजना २०६७ सालमा सुरु भई ०७२ सालमै सक्नुपर्ने आयोजना थियो तर समयमै काम सुरु हुन सकेको थिएन । 

    २०७२ साल चैतमा विधिवत्रुपमा सुरु गरिएको काम पनि विभिन्न अवरोधका कारण रोकिँदै आएको थियो । मैनिहिया सबस्टेशनको सुरुआतसँगै रुपन्देहीको दक्षिणी क्षेत्रको विद्युत अनियमितता धेरै हदसम्म समाधान हुने नेपाल विद्युत् प्राधिकरण भैरहवा शाखा प्रमुख अवधेककुमार दुवेले बताए । 

    विभिन्न विवादका कारण समयमै काम हुन नसकेको उक्त आयोजना पूरा गर्न रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुभएका घनश्याम भुसालको मुख्य सक्रियता रहेको स्थानीयवासी मनोज रिजालले बताए । 

    प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनमा विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको हो । प्रसारण लाइनको निर्माणसँगै करिब २ सय मेगावाट विद्युत् प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ ।

    मैनहियामा १३२/३३/११ केभीको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसनमा ४५ एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर र ३३/११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर रहनेछन् ।प्रसारण लाइन सञ्चालनमा आएसँगै बुटवल, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने र उद्योगलाई मागेजति विद्युत् दिन सकिने आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले बताए । 

    स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिनेछ । त्यसमध्ये चार वटा फिडरको लाइन तानिसकिएको उनको भनाइ छ ।  

    १८ किलोमिटर प्रसारण लाइनमा ५७ वटा टावर निर्माण गरिएको छ । बुटवल बजार क्षेत्रमा १ सय ३२ केभी प्रसारण लाइनलाई २ किलोमिटर  भूमिगत गरिएको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत् प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ ।  मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । 

    अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकामा मैनहिया–सम्पत्तिया बनेपछि नेपाल–भारतबीचको आन्तरदेशीय विद्युत् व्यापार अझ सहज हुनेछ । आयोजनाको कूल लागत भने १ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।

    आयोजनाको सुरुआती चरणमा योगीकुटीबाट सिद्धार्थ राजमार्ग हुँदै सिधै ठुटिपीपलसम्म र त्यहाँबाट मैनिहिया लैजाने योजना थियो तर स्थानीयवासीले विरोध गरेपछि मार्ग बदलिएको थियो । मार्ग परिवर्तन हुँदा मगरघाटबाट शुद्धोधन गाउँपालिकाको विभिन्न क्षेत्र हुँदै सियारीको मैनिहियास्थित सबस्टेशनमा पुर्याइएको छ । त्यस क्रममा पनि विभिन्न व्यक्ति र समूहले अवरोध गरेका थिए । 

    बुटवलका केही व्यवसायीले भैरहवातर्फ सबस्टेशन बनाउन दिनुहुँदैन भनेर खुलेरै यसको विरोध गर्दै  खम्बासमेत ढालिदिएकाले आयोजनाको काममा अवरोधसमेत भएको थियो । अन्ततः उक्त आयोजनाले १२ बर्ष पछि भए पनि पूर्णता पाएको छ । 

    सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्म न्यौपानेले मैनिहिया सबस्टेशन सञ्चालनसँगै उद्योगी व्यवसायीमा खुसीको सञ्चार भएको बताउनुभयो । उनले भने, “लुम्बिनी करिडोरमा रहेका उद्योगले भोग्नुपरेको ऊर्जा सङ्कट हटाउन र  भैरहवा लुम्बिनी क्षेत्रका उद्योगी व्यवसायीले भोगिरहेको विद्युत् अनियमितता कम गर्न बुटवल गोरुसिङ्गे लुम्बिनी १ सय ३२ केभिएको सञ्चालनले पक्कै सहजता ल्याउँछ ।”

    व्यवसायीले दुम्कीबासको समस्या अदालती प्रक्रियाबाट समाधान भए पनि अब स्थानीय तहमा त्यसको समन्वय गरी छिट्टै काम सुरु गर्नुपर्नेमा जोड दिए ।  भरतपुर–बर्दघाट २ सय २० केभी डबल सर्किट विस्तार भइरहँदा दुम्कीबासमा निर्माण गर्ने दुई वटा टावरका विषयमा स्थानीयवासीले अवरोेध गरी सर्वोच्च अदालतमा रिट दायर  गरेकाले २०७७ देखि उक्त आयोजना रोकिएको थियो । 

    यही असार १२ गते सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलाशले टावर बनाउन बाटो खोलिदिएको छ। योसँगै अब भरतपुर–बर्दघाट २२० केभी आयोजनाले छिट्टै पूर्णता पाउने भएको छ । 

    उक्त आयोजनाले पूर्णता पाएसँगै हाल चालू अवस्थामा रहेको भरतपुर–बर्दघाट १ सय ३२ केभीको सिङ्गल सर्किटका कारण विद्युत्को आपूर्तिको कमी भइरहेका बेला २ सय २० डबल सर्किटको सञ्चालनबाट उक्त समस्या पूरा हुने जनाइएको छ । 

    डबल सर्किटको सुरुआतसँगै तामाकोसी र मस्र्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् पनि बर्दघाट पश्चिमतर्फ ल्याउन बाटो खुल्ने विद्युत् प्राधिकरणका अधिकारीहरुले बताएका छन् । 
     
    यतिबेला भरतपुर–बर्दघाट १३२ केभी सिङ्गल सर्किट र कालीगण्डकीको उत्पादन पश्चिम क्षेत्रमा प्रवाह भइरहेको छ । लुम्बिनी करिडोरमा रहेका सिमेन्ट तथा छड उद्योग, विश्वपर्यटनको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी, अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल, व्यावसायिक तथा आधुनिक सहर भैरहवा र घनाबस्तीका कारण यो क्षेत्रमा विद्युतीय खपत बढिरहेको छ । 

     


    images

    Logo