images
images

सरकारले कर घटाएन, पेट्रोलियम पदार्थको मूल्य आज फेरि बढ्दै


  • 1.4K
    SHARES
  • २०७८ जेठ १८ गते मंगलबार

    सरकारले कर घटाएन, पेट्रोलियम पदार्थको मूल्य आज फेरि बढ्दै

    काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् अघिल्लो वर्ष पेट्रोलियम पदार्थमा बढाइएको कर घट्ला भन्ने अपेक्षा आम उपभोक्ताले गरेका थिए । पेट्रोलियम पदार्थमा अत्यधिक करको भार भएको भन्दै घटाउन चर्को दबाब परे पनि सरकारले यसको सुनुवाइ गरेन । फलस्वरुप बजेट भाषणको चाैथो दिन उपभोक्ताले पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धिको मार खेप्नुपर्ने भएको छ ।

    कोरोाभाइरस महामारीको पहिलो लहरसँगै विश्वभर इन्धन खपत हुने उद्योग बन्द हुँदा विश्वभर कच्चा तेलको मूल्य निकै तल्लो तहसम्म झरेको थियो । त्यतिबेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अमेरिकी डलर १९ प्रतिब्यारेलसम्म झरेको थियो । त्यही मौका छोपेर तत्कालिन अर्थमन्त्री डा. युुवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटमा पूर्वाधार करको नाममा पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर थपिदिए ।

    सो करबाट सर्वसाधारणलाई अतिरिक्त भार पर्दैन भनियो । तर, अन्तर्राष्ट्रिय बजारमा भाऊ बढ्दै जाँदा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदै गयो । तर, यो अवस्थामा नेपाली उपभोक्ताले तिर्नुपर्ने मूल्य बढ्दै गयो भने निगम भने घाटामा गयो । यतिबेला निगम नाेक्सान सहेर पेट्रोलियम पदार्थ बिक्री गर्न सक्दैनाैं भनसरहेको छ । अन्तत: यसको अतिरिक्त भार उपभोक्तामै पर्दै गएको छ ।

    आयल निगमको पछिल्लो मूल्यसूची अनुसार अहिले पेट्रोलको मूल्य प्रतिलिटर १ सय २३ रुपैयाँ छ । यो मूल्यमध्ये करिब ५६ रुपैयाँ करबापत सरकारले लिन्छ । बाँकी रकम मात्रै पेट्रोलियम पदार्थमा मूल्य, ढुवानी खर्च, बिक्रेताको कमिसन, निगमको खर्च र मूल्य स्थिरीकरण कोषको खर्च जोडिन्छ । अहिले सरकारले पेट्रोलियम पदार्थमा भन्सार, मूल्य अभिवृद्धि कर (भ्याट), पूर्वाधार विकास कर र सडक मर्मत तथा सुधार दस्तुुर समेत गरी ४ शीर्षकमा कर उठाउँदै आएको छ । 

    आज जुन १ तारिख । स्वचालित मूल्य प्रणाली अनुसार भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने दिन । नेपाल आयल निगमले पनि स्वचालित मूल्यप्रणाली अनुसार नै प्रत्येक १५/१५ दिनमा मूल्य समायोजन गर्दै आएको छ । 

    योभन्दा अघिल्लोपटकको मूल्य समायोजनमा निगमले पेट्रोलमा प्रतिलिटर ८.५६ रुपैयाँ, डिजेलमा ४.४६ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर ३ सय ७५.१३ रुपैयाँ नोक्सान रहेको जनाएको थियो । यो नोक्सानका आधारमा अन्तराष्ट्रिय बजारमा मूल्य स्थिर रहेको अवस्थामा पनि निगमले मूल्य वृद्धि गर्ने सम्भावन देखिन्छ । 

    त्यसो त, अन्तराष्ट्रिय बजारमा आजदेखि पेट्रोलिम पदार्थको मूल्य प्रतिब्यारेल ७० अमेरिकी डलर भन्दा धेरैले कारोबार हुने अनुमान गरिएको छ । विश्वका अधिकांश देशमा अहिले पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ । नेपाली सीमावर्ती बजार रक्सौलमा मंगलबार पेट्रोलको मूल्य ९८.२३ भारतीय रुपैयाँ तोकिएको छ । १५ दिन अगाडि यस्तो मूल्य ९६.३९ रुपैयाँ थियो । 

    सीमावर्ती बजारमा कायम रहेको यो मूल्य नेपाली मुद्रामा करिब १ सय ५७ रुपैयाँ हो । नेपाली बजारको यो मूल्य करिब ३४ रुपैयाँ सस्तो हो । सरकारले भने क्रसबोर्डर तस्करी बढ्ने भन्दै पेट्रोलियम पदार्थमा करको दर उच्च राख्दै आएको छ ।

    उता अन्तर्राष्ट्रिय बजारको मूल्य मापन हुने ब्रेन्ट क्रुड आयलको मूल्य ६९.२४ अमेरिकी डलर रहेकोमा यो ७० अमेरिकी डलरको नजिक पुगेको छ । अहिलेकै अवस्थामा नोक्सानी रहेको र लागत मूल्य समेत बढ्ने भएकोले आज पनि निगमले पेट्रोलियम पदार्थको मूल्य बढ्नेछ । 


    images

    Logo