images
images

प्राविधिक विश्लेषणको नियन्त्रणबाहिर शेयर बजार, किन बढेन बैंकको शेयर ?


  • 798
    SHARES
  • २०७८ जेठ २० गते बिहीबार

    प्राविधिक विश्लेषणको नियन्त्रणबाहिर शेयर बजार, किन बढेन बैंकको शेयर ?

    काठमाडौं । पछिल्लो समय शेयर बजारले सबै प्राविधिक विश्लेषण र भविष्यवाणीहरुलाई मिथ्या साबित गर्दै आफ्नो लयलाई अगाडि बढाइरहेको छ । चालु आवको प्रारम्भबाटै वृद्धिको लयमा रहेको शेयर बजार पछिल्लो कारोबारमा उच्च बिन्दु कायम गर्दै अगाडि बढेको छ । अघिल्लो वर्षसम्म बढीमा ३–४ अर्बको कारोबार हुने बजारमा अहिले १६–१७ अर्ब सम्मको कारोबार हुन थालेको छ । अझ रोचक पक्ष त यो छ कि बजारमा खास कम्पनी, त्यसको वित्तीय अवस्था र प्रतिफलको सम्भावनाका आधारमा नभई खास सेक्टरका आधारमा वृद्धि भईरहेको छ । माइक्रोफाइनान्स, जीवन बीमा, निर्जीबन बीमा, हाइड्रोपावर, होटल, फाइनान्स, विकास बैंक तथा अन्य सेक्टरमा समेत विभिन्न समयमा उछाल आईसकेको छ र केहीको आईरहेको छ । कुनै सेक्टरको सूचक बढ्दा सबै कम्पनीको सूचक बढ्ने र घ्दा पनि सबै कम्पनीको सूचक घट्ने गरिरहेको छ । यसले बजारले सही लय पकड्न नसकेको स्पष्ट हुन्छ ।   


    वाणिज्य बैंकको शेयर किन बढेन ?


    अन्य क्षेत्रका शेयरमा तीव्र उछाल आईसकेको भएतापनि हालसम्म नेप्सेमा सूचीकृत वाणिज्य बैंकहरुको शेयरमूल्यमा भने खासै वृद्धि हुन सकेको छैन । नेपाली शेयर बजारको मूल हिस्सा मानिने वाणिज्य बैंकहरुको शेयरमूल्य अन्य क्षेत्रको तुलनामा अझै पनि निकै कम रहेको विश्लेषण गर्ने गरिएको छ । 
    वाणिज्य बैंकहरुको शेयरमूल्य बढ्न नसक्नुमा विभिन्न कारणहरु रहेको विश्लेषण गरिन्छ । कतिले धेरै चुक्तापुँजी रहेको र शेयर कर्नरिङको सम्भावना कम हुने भएकाले वाणिज्य बैंकहरुको शेयरमा उल्लेख्य वृद्धि हुन नसकेको बताउने गरेका छन् तर बजारको पछिल्लो अवस्थाले सो विश्लेषणलाई साथ दिएको छैन । एकातिर हाल वाणिज्य बैंकहरुको भन्दा बढी बजार पुँजीकरण रहेका कम्पनीहरु प्रशस्त आईरहेका छन् भने अर्कातिर पछिल्लो बजारको बुलिस ट्रेण्डलाई हेर्दा कुनै खास कम्पनीको कर्नरिङ नभई सबै कम्पनीकै मूल्यवृद्धि भएको देखिएको छ । यसबाट यो सिद्ध हुन्छ कि चुक्ता पुँजी एवं बजार पुँजीकरण धेरै नभएर वाणिज्य बैंकहरुको शेयर वृद्धि हुन नसकेको होइन । 


    केही विश्लेषकहरुले भने वाणिज्य बैंकहरुको प्रतिफलको सम्भावना र वित्तीय सुशासनको अवस्थाका कारण शेयर वृद्धिमा ढिलाई भएको तर्क गर्ने गरेका छन् । सुन्दा अलि अनौठो लागेतापनि वास्तवमा बजारको पछिल्लो अवस्थाले त्यही नै देखाएको छ । नेपालको शेयरबजारमा सूचीकृत समूहमध्ये बैंकिङ समूहलाई सबैभन्दा विश्वासिलो र प्रभावकारी समूह मानिन्छ । हरेक कम्पनीको नेटवर्थ रु. १०० भन्दा बढी रहनु, सबैजसो कम्पनीको प्रतिशेयर आम्दानी सधैँ धनात्मक रहनु, वित्तीय सुशासनको अवस्था विद्यमान रहनु र धेरैजसो कम्पनीहरुले लगानीकर्तालाई लामो समयदेखि उच्च प्रतिफल प्रदान गर्दै आएको इतिहास वाणिज्य बैंकहरुसँग रहेको छ । तसर्थ, अझै पनि सुझबुझयुक्त लगानीकर्ताको विश्वासमा वाणिज्य बैंक नै रहने गरेका छन् । 

    लगानीकर्ताको मुख्य आशा र भरोसाको केन्द्र नै वाणिज्य बैंक भएकाले सबै लगानीकर्ताहरुमा यो विश्वास छ कि वाणिज्य बैंकहरुमा उछाल नआईकन यो बुलिस ट्रेण्ड अन्त्य हुनेवाला छैन । त्यही आधारलाई नै ठुला कारोबारीहरुले उपयोग गरेको र त्यसै आधारमा अन्य सेक्टरका कम्पनीहरुको मूल्य वृद्धि गराउन पुगेको देखिन्छ । 


    images

    Logo