images
images

एउटै जिल्लामा तीन हजार मेगावाटभन्दा बढी विद्युत्, कुन आयोजनाको क्षमता कति ?


  • 819
    SHARES
  • २०७८ जेठ २९ गते शनिबार

    एउटै जिल्लामा तीन हजार मेगावाटभन्दा बढी विद्युत्, कुन आयोजनाको क्षमता कति ?

    सङ्खुवासभा । विद्युत उत्पादनका लागि उर्वर जिल्ला मानिएको सङ्खुवासभामा अरुण नदीबाट मात्र ३ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएको छ । अरुण नदीबाट मात्रै ठूला पाँचवटा विद्युत् आयोजना निर्माण हुने र त्यसबाट तीन हजार २५३ मेगावाटको विद्युत् उत्पादन हुने देखिएको हो ।

    पाँचवटा ठूला आयोजनामध्ये अहिले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको भौतिक निर्माणको कार्य तीव्र रूपमा भइरहेको छ । मकालु गाउँपालिकाको नुम र हेदाङ्गनाबीच बाँध निर्माण र चिचिला गाउँपालिकाको दिदिङ र मकालुकै याफु गाउँबीच पावरहाउस रहेको यो परियोजना प्रधानमन्त्रीको अध्यक्षतामा गठित लगानी बोर्डमार्फत भारतीय कम्पनी सतलज जलविद्युत् निगमलाई जिम्मा दिइएको छ । 

    आयोजना क्षमता
    अरुण तेस्रो ९०० मेवा
    तल्लो अरुण ४७० मेवा
    माथिल्लो अरुण १०६१ मेवा
    किमाथांका अरुण ४५० मेवा
    अरुण ४ ३७२ मेवा

    खाँदबारी नगरपालिकाको हेलुवाबेँसी, चेवाबेँसी र चन्दनपुर क्षेत्रभित्र निर्माण हुने लोअर अरुण विद्युत् परियोजना ४७० मेगावाट पनि यही भारतीय कम्पनी सतलज जलविद्युत् निगमलाई नेपाल सरकारले केही महिना पहिले लगानी बोर्डमार्फत नै जिम्मा दिने निर्णय गरिसकेको भए पनि परियोजना सञ्चालन गर्न बोर्ड र प्रवद्र्धक विद्युत् विकास कम्पनीबीच औपचारिक सम्झौता हुन बाँकी छ ।

    विद्युत् विकास विभागले आयोजना पहिचान र सर्वेक्षण गरिसकेका आयोजनाहरूमध्ये अपर अरुण एक हजार ६१ मेगावाट र किमाथाङ्का अरुण ४५० मेगावाट नेपाल विद्युत् प्राधिकरण मातहत दुईवटा कम्पनीलाई सर्वेक्षण इजाजत जारी भएको छ ।

    भोटखोला गाउँपालिकाको चेपुवा, रुकमा र नामुछि गाउँमा निर्माण हुने अर्धजलाशययुक्त एक हजार ६१ मेगावाटको आयोजना निर्माण कार्य नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीले गर्नेछ भने नेपाल सरकारले पनि आयोजना कार्यान्वयनका लागि आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सात अर्ब ४० करोड रुपियाँ बजेट विनियोजन गरेको छ । 

    यसैगरी नेपाल र मित्रराष्ट्र चीनको सिमाना नजिक रहेको भोटखोला गाउँपालिकाको छुमसुर, रिदाक क्षेत्रमा पहिचान गरिएको ४५० मेगावाटको किमाथाङ्का अरुण विद्युत् आयोजना प्रवद्र्धनका लागि नेपाल विद्युत् प्राधिकरणले विद्युत् उत्पादन कम्पनी लिमिटेड नामक कम्पनी खडा गरिसकेको छ । त्यस्तै ३७२ मेगावाटको अरुण ४ भोटखोला गाउँपालिकाकै स्याक्सिला, तुङ्खालिङ, मकालु गाउँपालिकाको पावाखोला र सिम्मा क्षेत्रमा निर्माण हुनेछन् । 

    यो आयोजना अहिले पनि विद्युत् विकास विभागको ‘बास्केट’मा सुरक्षित छ । अरुण नदीको पाँचवटा विद्युत् आयोजनाबाट मात्र तीन हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने देखिएको छ । गोरखापत्रबाट


    images

    Logo