images
images

सूर्यविनायक–धुलिखेल सडक विस्तार यही वर्षदेखि, साँगामा सवा किलोमिटर सुरुङ, ३० अर्ब लागत


  • 822
    SHARES
  • २०७८ जेठ ३० गते आइतबार

    सूर्यविनायक–धुलिखेल सडक विस्तार यही वर्षदेखि, साँगामा सवा किलोमिटर सुरुङ, ३० अर्ब लागत

    काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरका सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार हुने भएको छ । दुई लेनमा रहेको सो सडक विस्तार भएपछि चार लेनको हुने छ । सम्पूर्ण प्रशासनिक प्रक्रिया पूरा भइसकेको सो सडक विस्तारका लागि आगामी आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिकभित्रमा नै बोलपत्र आह्वान गरिने सडक विभागले जनाएको छ । 

    विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सो सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र डिजाइनसमेत तयार भई स्वीकृत भइसकेको बताउँदै नयाँ आर्थिक वर्षको सुरुदेखि नै निर्माण प्रक्रिया सुरु गरी आर्थिक वर्षको पहिलो चौमासिकभित्रमा नै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिने जानकारी दिए । उनले सो सडक विस्तारका लागि नयाँ बजेट वक्तव्यमा रकम विनियोजन गरिएकाले अब निर्माण प्रक्रिया अगाडि बढाउन कुनै कठिनाइ नभएको स्पष्ट पारे । 

    सो सडकका लागि दुई अर्ब रुपियाँ बजेट विनियोजन गरिएको छ । त्यसैगरी डिभिजन सडक कार्यालय भक्तपुरले गत वर्षदेखि नै सो सडकखण्ड क्षेत्रमा परेका संरचनाहरू हटाउन तथा रुख कटान सुरु गरिसकेको छ । सो सडक विस्तारका लागि करिब आठ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । महानिर्देशक थापाले कुल १५ किलोमिटर लम्बाइ रहेको सो सडकखण्डमा चार लेनमा विस्तार गरिने गरी डिजाइन गरिएको बताए । सो सडकखण्डमा छ स्थानमा आकाशेपुल, चार स्थानमा पुल र एउटा कल्भर्ट निर्माण गरिनेछ । 

    थापाले भने “यो सडकखण्ड विस्तारका लागि सडक विभागका साथै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले समेत डीपीआर तयार पारेको छ । सडक विभागको डीपीआरको तुलनामा जाइकाले तयार पारेको डीपीआरअनुसार विस्तार गर्दा तीन गुणाभन्दा बढी लागत बढ्ने भएकाले विभागको डीपीआरअनुसार विस्तार गरिनेछ ।” उनका अनुसार जाइकाले तयार पारेको डीपीआरमा आठ लेनको सडक विस्तार तथा भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्रको साँगामा एक दशमलव २९ किलोमिटर सुरुङमार्गसमेत प्रस्ताव गरिएको छ । 

    त्यसैगरी जाइकाले अहिलेको सडकको ‘एलाइनमेन्ट’ परिवर्तन हुने गरी डीपीआर तयार गरेको छ । जाइकाको डीपीआरअनुसार विस्तार गर्दा १० अर्ब रुपैयाँभन्दा बढीको जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । विभागका महानिर्देशक थापाले जाइकाको डीपीआरअनुसार सो सडकखण्ड विस्तारको लागत करिब ३० अर्ब रुपियाँ हुने देखिएको बताए । उनले  दूरगामी  दृष्टिकोणले  जाइकाको डीपीआर राम्रो भए पनि समय, लागत र नेपालको सन्दर्भमा जग्गा अधिग्रहणको वर्तमान झन्झटिलो प्रक्रिया तथा अवस्थाका कारण जाइकाले तयार पारेको डीपीआरअनुसार तत्काल सो सडकखण्डको विस्तार सम्भव नरहेकाले सडक विभागले नै तयार पारेको डिजाइनमा विस्तार गरिने बताए । जाइकाले सन् २०११ मा तीनकुने–सूर्यविनायक सडक विस्तारसँगै सो सडकखण्ड विस्तारको प्रारम्भिक अध्ययन गरेको थियो । गोरखापत्रबाट


    images

    Logo