काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तगर्त मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल ( एमसीए)ले ३१५ किमि प्रसारणलाइन निर्माणको लागि ठेक्का आह्वान गरेको छ । एमसीएले सोमबार सुचना जारी गर्दै प्रसारणलाइन निर्माणको लागि ठेक्का आह्वान गरेको हो ।
एमसीए प्रसारणलाइन निर्माणको लागि ३ चरणको ठेक्का आह्वान गरेको छ । लप्सीफेदी–रातमाटे–बुटवल प्रसारणलाइन निर्माणका लागि तीनवटा लटमा ठेक्का निकालेको हो। लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा १ सय १७ किलोमिटर लामो प्रसारण लाइन ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ ।
त्यस्तै, रातमाटे–दमौली ९० किलोमिटर लामो ४ सय केभी र न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको कूल १८ किलोमिटर लामो प्रसारण लाइनसमेत यसैमा समेटिएको छ ।
आज आह्वान भएको ठेक्कामा यही वर्षको चैत १३ गतेसम्ममा आवेदन दिनुपर्ने एमसीए नेपालको कार्यालयले जनाएको छ । नेपालको प्रसारण प्रणालीको विकास तथा सडक निर्माणका लागि अमेरिकाले अनुदान सहयोग उपलब्ध गराएको छ ।
एमसिसीले कूल ५० करोड डलर र नेपाल सरकारकातर्फबाट १३ करोड डलर सो परियोजनाका लागि उपलब्ध हुनेछ । आयोजना निर्माण आगामी अगस्टदेखि गणना हुनेगरी पाँचवर्षे अवधि प्रारम्भ हुनेछ । एमसिसीले पाँच वर्षे अवधिमा सम्पन्न गर्नेगरी परियोजना अगाडि बढाउन लागिएको छ ।
लामो रस्साकस्सीपछि गत फागुनमा नेपाल सरकार र एमसिसीबीच भएको सम्झौता सङ्घीय संसद्ले अनुमोदन गरेको थियो ।


