काठमाडौं । सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाअन्तर्गतको दोस्रो खण्ड सूर्यविनायक–साँगाको निर्माण प्रक्रियाअघि बढेको छ । यसका लागि आयोजनाले गत कात्तिकमा यस खण्डको प्रस्तावित सडक विस्तार गर्न ठेक्का आह्वान गरेको थियो ।
उक्त सडकखण्ड विस्तारका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेको थियो । सवारी चाप अत्यधिक रहने सूर्यविनायक–धुलिखेल सडक विस्तारको प्रस्तावित योजनाले छिट्टै गति लिने भएको हो । यस खण्ड विस्तार गर्न ३ अर्ब ८८ करोड ९३ लाख ९६ हजारमा ठेक्का लगाइएको छ । उक्त खण्डका लागि जेभीका रुपमा आशिष, कुमार श्रेष्ठ, बन्दन भगवती जेभीको ठेक्का स्वीकृत भएको हो ।
आयोजनाअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडक विस्तार गर्न ४ अर्ब ५६ करोड लागतमा ठेक्का लागि सकेको छ । जसको ठेक्का लामा कन्स्ट्रक्सन कम्पनीले पाएको थियो । अहिले उक्त ठेक्का सम्झौताको चरणमा रहेको आयोजनाले जनाएको छ । यसमा ठेक्का पाउने निर्माण व्यवसायीले तीन वर्षभित्र निर्माण पूरा गर्नुपर्ने र निर्माण सम्पन्न भएको एक वर्षसम्म मर्मतको जिम्मासमेत लिनुपर्ने जनाइएको छ । पुल निर्माणको लागि भने छुट्टै ठेक्का आह्वान गरिने आयोजनाको भनाइ छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) मा केही परिवर्तन हुँदा पुल थप निर्माण गर्न आवश्यक पर्ने भएकालेरु एक अर्ब लागत लाग्ने आयोजनाको अनुमान गरिएको हो ।
अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०÷२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने आयोजनाले जनाएको छ । यसका लागि छुट्टै ठेक्का आह्वान गरिने जनाइएको छ । यसको लागि प्रतिमिटर १५ लाख लागत अनुमान गरिएको छ । यसको अनुमानित लागत ९० करोड छ ।
उक्त डिपीआरअनुसार साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडक जाने–आउने लेन तल–माथि हुने भएको छ भने सर्भिस लेन निर्माण गर्न नसकिने अवस्था भएको अध्ययनले जनाएको छ । उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक अवस्था कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर योजना अघि बढाइने भएको हो ।
आयोजनाका प्रमुख रवीन्द्रलाल दासका अनुसार यसमा अहिले भइरहेको लेन धुलिखेलबाट आउने एकतर्फि अहिलेकै सडकलाई बनाउने र सूर्यविनायकबाट धुलिखेल जाने अर्को सडक खोलाको तलबाट निर्माण गरिनेछ । गाडी चल्ने मुख्य चार लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण गर्नुपर्ने हुन्छ । सौ बीचमा तीन मिटरको ‘मेडियन’ निर्माण गर्नुपर्ने डिजाइनमा उल्लेख गरिएको छ ।
काठमाडौँबाट धुलिखेलतर्फ जाने लेन नयाँ पर्खाल लगाइने छ भने आउने लेन पहिलेकै रूपमा रहने जनाइएको छ । प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाको लागि करिब १ अर्ब मुआब्जा दिनुपर्ने अनुमान गरिएको छ । काभ्रेपलाञ्चोकको पूर्वी–दक्षणी क्षेत्र बिपी राजमार्ग हुँदै आवागमन हुने सवारी काठमाडौँ–पूर्वी तराई गर्छन् ।
उत्तरी नाका तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ । सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ । आयोजनाले सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि गत साउन पहिलोसाता राजमार्ग छेउछाउमा सडक मापदण्ड भित्रका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो ।
सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि ‘कन्सल्ट्यान्ट हायर’ गरी डिपीआर गरिएको आयोजनाका डिभिजन इन्जिनियर शम्भुप्रसाद आचार्यले बताए। “सडकको डिजाइन र डिपीआरको काम सके लगत्तै टेण्डरको प्रक्रियामा गएका हौँ”, उनले भने। उनका अनुसार सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि चालू आर्थिक वर्षमा ७० करोड बजेट विनियोजन भएको थियो । सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना बहुवर्षीय हो ।
छ लेनको डिजाइन हुने उक्त सडक निर्माणको काम नेपाल सरकारले गर्ने भएको हो । सडक विभागले केही वर्षदेखि धुलिखेलदेखि बनेपा हुँदै भक्तपुरसम्म सडकको चाप बढिरहहेकाले उक्त सडकखण्ड विस्तारका लागि यसअघि नै प्रक्रिया थालेको थियो । उक्त सडक विस्तारका लागि सकेसम्म लगानीकर्ता खोजिने, नभए सरकार आफैँले निर्माण गर्ने जनाउँदै आइएको थियो । उक्त सडकखण्ड विस्तारमा केही वर्षदेखि चासो देखाउँदै आएको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले नगर्ने बताएपछि सरकारले निर्माण प्रक्रिया थालेको हो । सडक करिब १६ किलोमिटर दूरीको छ । यसमध्ये काभ्रेपलाञ्चोकमा १० र भक्तपुरमा छ किलोमिटर लम्बाइको पर्दछ ।
आयोजना निर्माण सम्पन्न भएपछि धुलिखेल–भक्तपुरको सवारी चाप निकै कमभई सडक विस्तारमा अर्को फड्को मार्ने काभ्रेपलाञ्चोकका सांसद गोकुलप्रसाद बाँस्कोटाले बताए । उनले भन्नुभयो, “यो सडक विस्तारमा अर्को गौरवको आयोजनाका रुपमा दिनुपर्छ, यसले सडक विस्तारमा थप आयाम सिर्जना गर्नेछ ।”
सरकारले आव २०७७र७८ मा कान्ति राजपथसँगै धुलिखेल–सूर्यविनायक सडक विस्तार सुरुगर्न रु एक अर्ब २० करोड विनियोजन गरेको थियो । अघिल्लो आवको बजेटमासमेत उपत्यकाको विद्यमान सवारी चापलाई व्यवस्थापन गर्न स्तरोन्नती विस्तृत अध्ययन गरिने उल्लेख गरेको थियो । डिभिजन सडक कार्यालय भक्तपुरले विसं २०७६ मा सडक निर्माणस्थल खाली गराउन रुख कटानलगायत काम गर्दै आए पनि केही समयमै सोकार्य रोकिएको थियो ।
सङ्घीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । यी सडकबाट अरनिको राजमार्ग हुँदै प्रदेश १ र २ का नागरिक काठमाडौँ आउजाउ गर्दछन् । सडक विस्तार सम्पन्न भएपछि पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भए यो सडकखण्डमा सवारी चाप बढ्ने अनुमान गरिएको छ ।


