images
images

यी तीन कारण जसले घटायो शेयर बजार, विज्ञ भन्छन्, 'अब बढ्ने सम्भावना धेरै छ'


  • 1.4K
    SHARES
  • २०७८ आषाढ ७ गते सोमबार

    यी तीन कारण जसले घटायो शेयर बजार,  विज्ञ भन्छन्, 'अब बढ्ने सम्भावना धेरै छ'

    काठमाडौं । ‘शेयर बजारमा खेल्नु खेलियो, अब लकडाउन पनि खुल्न लाग्यो । अब आफ्नै कामतिर लाग्नुपर्छ,’ काठमाडौंको न्यूरोडस्थित एक इलेक्ट्रोनिक पसल सञ्चालन गरिरहेका राकेश महर्जन भन्छन्, ‘अब जतिमा हुन्छ फालिदिने हो, पछि फेरि राम्रोसँग हेर्न भ्याइँदैन ।’ 

    महर्जनले २ महिनाको अवधिमा शेयर बजारमा करिब २० लाख रुपैयाँ लगाएका थिए । अहिले उनको पोर्टफोलियो करिब २८ लाखको छ । आइतबार मात्रै उनले ७/८ लाखको शेयर बेचिसकेका छन् ।  १/२ लाख घटाएरै पनि बाँकी नाफा बुक गरिहाल्ने उनको सोच छ । भन्छन्, ‘भोलि बजार घटिहाल्यो भने झनै नोक्सान हुन सक्छ । काममा लाग्दा त्यता ध्यान दिन पनि भ्याइँदैन । जेहोस्, लकडाउनको सदुपयोग भयो । बेचिसक्दा ५ लाख बच्यो भने पनि ठीकै हुन्छ ।’ 

    महर्जन प्रतिनिधि पात्र मात्रै हुन् । अल्पकालीन रुपमा बजारमा भित्रिएका लगानीकर्ताहरु निषेधाज्ञा खुल्ने भएसँगै यसरी बाहिरिन चाहने लगानीकर्ताको संख्या अहिले निकै बढेको छ । छोटो समयमै राम्रो नाफा भएपछि उनीहरु बाहिरिन चाहेका छन् । 

    आइतबार र सोमबार नेपालको शेयर बजारले ठूलो करेक्सन लियो । त्यसो त बुधबार र बिहीबार पनि बजारले करेक्सनकै दिशा समातेको थियो । तर यसरी बजार घट्नुको प्रमुख कारण के हो त ? यसमा भने विज्ञ, बजार विश्लेषक र लगानीकर्ताको धारणा फरक फरक छ । 

    कारण १ : धितोपत्र बोर्डको विज्ञप्ती

    असार १ गते नेपाल धितोपत्र बोर्डले बजारका ५१ कम्पनीको सूची सार्वजनिक गर्दै ती कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण हुने जनाएको थियो । यो सूची सार्वजनिक गरिनु आफैँमा बजार गिरावटको एउटा महत्वपूर्ण कारण रहेको विश्लेषकहरु बताउँछन् । 

    नेपाल पुँजीबजार संघकी अध्यक्ष राधा पाेखरेले यो विज्ञप्तीले नियामक पुँजीबजारको वृद्धिप्रति सकारात्मक छैन भन्ने देखाउने भएकोले यसले बजार घटाएको बताउँछिन् । कारोबार नै नभएका कम्पनीको समेत सूची निकालेर बोर्डले लगानीकर्तालाई फसाउन खोजेको उनको आरोप छ ।

    बोर्डले सो सूची सार्वजनिक गरेको दिनदेखि बजार बढेको छैन । आज ४ दिनसम्म बजार लगातार घटिरहेको छ । यो क्रम दिन प्रतिदिन बढ्दै गएको छ । टुरिष्ट लगानीकर्ता बाहिरिन खोज्दैमा बजार यति धेरै प्यानिक हुनै नसक्ने उनको दाबी छ ।  

    कारण २ : बजारबाट बाहिरिने तरखर

    पुँजी बजारसम्बन्धी विज्ञ मुक्ति अर्याल लगानीकर्ताहरु पुँजीबजारबाट बाहिरिने खोज्नुु नै अहिलेको करेक्सनको मुख्य कारण हुनसक्ने बताउँछन् । देशभर निषेधाज्ञा घोषणा भएको अवस्थामा शेयर बजार मात्रै खुला हुँदा अहिले शेयर बजारमा अल्पकालिन रुपमा प्रवेश गरेका लगानीकर्ताको संख्या निकै धेरै रहेको पाइएको छ । 

    पर्यटन क्षेत्रलेखि होलसेल र खुद्रा व्यापारीसम्म बढ्दो बजारको मौका छोपेर बजारमा प्रवेश गरेका थिए । अब निषेधाज्ञा खुकुलो हुन थालेपछि उनीहरु विस्तारै बाहिरिने तरखर गर्न थालेको हुनसक्ने अर्यालको स्वीकारोक्ति छ । यसलाई उनी ‘प्रोफिट बुकिङ’को रुपमा अथ्र्याउँछन् । 

    कारण ३ : किस्ता, ब्याज र करको जोहो

    असार मसान्त आउँदै गर्दा यतिबेला उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज तिर्ने बाध्यता हुन्छ । यसका लागि धेरैले बजारको भर पर्ने भएकोले यो बेलामा बजारमा सामान्य करेक्सन आउनुलाई यसअघि पनि स्वभाविक नै मान्ने गरिन्थ्यो । तर, यसपटक अरु क्षेत्रबाट आम्दानी नहुँदा भएको शेयर बेचेरै कर्जा चुक्ता गर्ने क्रम बढ्ने आकलन गरिएको थियो । सोही कारण महिनाको अन्त्यमा बजार घट्नसक्ने अनुमान विज्ञहरुको थियो । 

    तर, महिना सुरु नहुँदै बजार घट्न थाल्नुको पछाडी लगानीकर्तामा फेरि पनि विज्ञप्तीकै मनोविज्ञानको प्रभाव रहेको हुनसक्ने उनीहरुको भनाइ छ । 

    बहाना फेरि धितोपत्र बोर्ड नै

    बजार घट्नुका कारण जतिसुकै भए पनि बहाना भने धितोपत्र बोर्डले अघिल्लो मंगलबार निकालेको विज्ञप्ती नै रहेकोमा भने सबैमा एकमतजस्तै देखिन्छ । विज्ञ अर्यालकै भनाइमा पनि बजारमा करेक्सन आउनु स्वभाविक प्रक्रिया भए पनि यसले एउटा टर्निङ प्वाइटको भूमिका खेल्यो । ‘बजारमा करेक्सन आउनु स्वभाविक नै थियो, तर, विज्ञप्ती अहिलेको कारण बनिदियो,’ अर्याल भन्छन्, ‘विज्ञप्ती आएको थिएन भने पनि बजार घट्थ्यो, घट्नुपथ्र्यो । ‘

    उनका अनुसार घट्नसक्ने ३/४ वटा कारणलाई बजारले तोडेको थियो । राष्ट्र बैंकको नीति, धितोपत्र बोर्डको विज्ञप्ती तथा बजेटमा बढाइएको पुँजीगत लाभकरको कारणले यसअघि पनि पटकपटक बजार घट्ने कारण सिर्जना भएको थियो । तर, बजारले यसको वास्ता नगरी अघि बढ्यो । बोर्डको पछिल्लो विज्ञप्ती बजार घट्नुको कारण बन्यो । 

    यद्यपि बजार लगातार  दिन घटिसकेको भन्दै अब बढ्ने सम्भावना उच्च हुँदै गएको उनको दाबी छ । ‘बजार लगातार घट्ने र लगातार बढ्ने सम्भावना निकै कम हुन्छ । लगातार ४ दिन घटिसकेपछि अब बढ्ने सम्भावना अधिक हुँदै जान्छ,’ अर्याल भन्छन्, ‘घट्नै सक्दैन भन्ने चाहिँ होइन ।’

    बोर्ड भने यसरी सूची सार्वजनिक गर्नु आफ्नो दायित्व भएको दाबी गर्छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना भन्छन्, ‘सर्वसाधारण लगानीकर्तालाई विभिन्न कम्पनीको वास्तविक अवस्थाका वारेमा जानकारी गराउने उद्देश्यसहित ती कम्पनीहरूको सूची सार्वजनिक गरेका हौं ।’


    images

    Logo