images
images

डेढ दशकमा हुलाकी राजमार्गको प्रगति ८३ प्रतिशत


  • 306
    SHARES
  • २०७९ पौष २८ गते बिहीबार

    डेढ दशकमा हुलाकी राजमार्गको प्रगति ८३ प्रतिशत

    काठमाडौं ।  निर्माण सुरु भएको डेढ दशकमा हुलाकी राजमार्गको भौतिक प्रगति ८३ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवको हुलाकी राजमार्गको निर्माण सम्पन्न हुन अझै तीन वर्ष लाग्ने आयोजनाले जनाएको छ ।

    तराई मधेस क्षेत्रको समृद्धिको आधारका रूपमा रहेको सो राजमार्गमा हालसम्म नौ सय १० किलाेमिटर सडक र एक सय १५ पुल निर्माण सम्पन्न भएका छन् । केही वर्षयता कोभिड, बन्दाबन्दीले गर्दा निर्माणमा ढिलाइ भइरहेको हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख धर्मेन्द्रकुमार झाले बताए । पहिले निर्माणस्थलका कारण निर्माणमा अवरोध पुगेको थियो, जुन अझै समाधान भइसकेको छैन । झण्डै २ सय ५० किलाेमिटर ठेक्का लगाउन बाँकी रहेको र ५ सय किलोमिटर निर्माणाधीन रहेको निर्देशनालयले जनाएको छ । दाङ, बर्दिया र कपिलवस्तु गरी झण्डै ९० किलोमिटर ठेक्का लगाउन बाँकी रहेको प्रमुख झाले बताए ।

    कतिपय ठेक्कामा निर्माण कम्पनीले काम नगरेको भए पनि विनियमावलीको व्यवस्थाका कारण विगतमा अवधि थप भइरहेको निर्देशनालयका प्रमुख झाले बताए । उनका अनुसार काम नभएका ठेक्कामा पनि पटक–पटक जरिवाना नलिएरै अवधि थप भइरहेको थियो । सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधनले ठेक्काको अवधि असारसम्मका लागि थप गरेको छ ।

    विगतमा कानुनका कारण काम नगर्दा पनि अवधि थप हुने व्यवस्था भएपछि अहिले काम नहुँदा जरिवाना गराउन सकिने प्रमुख झाले बताए । थपिएको अवधिमा यो समयसम्ममा यति गरिसक्नु पर्छ भनी तालिका बनाइएको र त्यसअनुसार नहुँदा कारबाही हुने उनको भनाइ छ । 

    अहिले आयोजनाअन्तर्गत झण्डै ५ सय किलाेमिटर सडक निर्माणाधीन रहेको छ । अहिले रुग्ण ठेक्का नभए पनि विगतमा काम नगरी अवधि थपिएको र अहिले पनि प्रगति हुन नसकेका ठेक्का पनि रहेको उनले बताए । कार्यतालिकाअनुसार काम नगरेमा ठेक्का तोडिने निर्देशनालयले जनाएको छ । उनले भने, “अहिले सडकका ६–७ ठेक्का र ६–७ पुलको ठेक्कामा समस्या देखिएको छ ।”

    चालु आर्थिक बर्षमा २७ पुल र १ सय ६० किलोमिटर सडक कालोपत्रको लक्ष्य रहेको आयोजनाले जनाएको छ । पछिल्लोपटक थपिएको अवधि आर्थिक बर्ष २०८९/८० सम्म रहेको छ । कोभिडका कारण अरु धेरै विकास आयोजनाजस्तै यो आयोजनालाई असर गरेको प्रमुख झाले बताए । 

    आयोजनामा खासगरी वन क्षेत्र र संरक्षण क्षेत्रमा निर्माणका लागि स्वीकृति नहुँदा निर्माण हुन नसकेको हो । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पहिलेको रेखाङ्कनअनुसार निर्माण गर्न नसकिएपछि त्यसको विकल्पका रूपमा पूर्व–पश्चिम राजमार्गको प्रयोग गर्ने गरी योजना बनाइएको प्रमुख झाले बताए । उनले भने, “अहिले निर्माण गर्न नसकिएको क्षेत्रमा हुलाकी राजमार्गकै उत्तर–दक्षिण सडकबाट पूर्व–पश्चिम राजमार्ग जानुपर्ने हुन्छ ।”

    यो आर्थिैक बर्षमा ५० पुल र ९० किलोमिटर सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउने निर्देशनालयको तयारी रहेको छ । आयोजनाको निर्माण हाल छ योजना कार्यालय र एक डिभिजन कार्यालयमार्फत अघि बढाइएको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ । योजना कार्यालय जनकपुर, वीरगञ्ज, कपिलवस्तु, नेपालगञ्ज र धनगढीमा रहेका छन् भने डिभिजन कार्यालय भरतपुरले समेत चितवन खण्डमा निर्माण गरिरहेको छ ।

    इटहरी योजना कार्यालयअन्तर्गत ३ सय ३६ किलोमिटर सडकमध्ये जम्मा १ सय ९१ किलोमिटर कालोपत्र सम्पन्न भएको छ । जनकपुर योजना कार्यालयले २ सय ८९ किलोमिटरमध्ये १ सय ६७ किलोमिटर, वीरगञ्ज योजनाले २ सय ३ किलोमिटरमध्ये १ सय ८३ किलोमिटर सम्पन्न गरेको छ । कपिलवस्तुस्थित योजना कार्यालयले जम्मा १ सय २६ किलोमिटरमध्ये ५२ किमी, नेपालगञ्जले २ सय ८४ किलोमिटरमध्ये १ सय १९ किलोमिटर र धनगढीले १ सय ५७ किलोमिटरमध्ये ५५ किलोमिटर सम्पन्न गरेको छ । डिभिजन सडक कार्यालय भरतपुरले ४१ भरतपुर माडी सडक २० किलोमिटर सम्पन्न गरेको छ ।

    चालु आर्थिक बर्षमा लक्ष्यअनुसारको सडक र पुल निर्माण गरेर आगामी आर्थिक बर्षमा १ सय ५३ किलोमिटर सडक र ६० पुल निर्माणका लागि ठेक्का प्रक्रियामा जाने प्रमुख झाले बताए । उनका अनुसार निर्माणमा जान बाँकी खण्डमध्ये गाईघाट बनियानी खण्डमा ३५ सडक निर्माणका लागि र ३० किलोमिटरको चिराइनाका–कल्याणकोट–गोबरडिहा–गढावा–राजपुर–ठोकुवा सडकखण्डमा प्रारम्भिक वातावरणीय मूल्याङ्कन (इआइए) भइरहेको छ । ३ किलोमिटर अमुवा–माढी–रिउखोला सडकको केही खण्ड र चितवन नवलपुरको जगतपुर–बहुवन सडकखण्ड ३८ किलोमिटर निकुञ्ज क्षेत्रमा तथा नवलपरासीको महेन्द्र राजमार्गबाट दुम्कीबास त्रिवेणी सडकखण्ड २० किलोमिटर जङ्गली क्षेत्रमा रहेको छ ।

    आयोजनाअन्तर्गत हाल १६ वटा निषेधाज्ञा मुद्दा रहेका छन् । सडक सीमासम्बन्धी विवादका कारणले गर्दा निर्माणस्थल खाली गराउन समस्या भइरहेको प्रमुख झाले बताउनुभयो । बिजुली र टेलिफोनका खम्बा स्थानान्तरणमा कठिनाइ भइरहेको छ । निर्माणस्थलमा देखिएको समस्या समाधानका लागि स्थानीय निकाय र प्रशासनको सहयोगमा समाधानका लागि प्रयास भइरहेको आयोजनाले जनाएको छ ।

    सडक सीमा विवादका कारण जनकपुर, पुलचोक, तेतरिया बजार, वीरेन्द्रबजार यदुकोहा, तीनकोरियालगायतका स्थानमा निर्माणमा अवरोध पुगेको उनले बताएयो । उनले भने, “कतिपय ठाउँमा सडक छेउमा रहेका मन्दिरलाई स्थानान्तरण गरी सडक निर्माण गर्नुपर्ने छ ।”

    भारतीय अनुदानमा बनेका सडकमध्ये कतिपय नेपाल सरकारलाई हस्तान्तरण भइसकेका र कतिपय निर्माणका क्रममा रहेको आयोजनाले जनाएको छ । विगतमा निर्माण सम्पन्न भएको भनी हस्तान्तरण भएका सडकमा समेत पैदलयात्रु मार्गलगायतका संरचना निर्माण बाँकी रहेकाले हाल निर्माण भइरहेको छ । ती सडकमा सवारीसाधन भने चलिरहेका आयोजनाले जनाएको छ ।

    आयोजनाको कुल बजेट ६५ अर्ब २० करोड रुपैयाँ रहेकामा हालसम्म ५४ अर्ब ७५ करोड रुपैयाँ खर्च भएको छ । बजेटमा ८ अर्बको भारतीय सहयोग रहेको छ भने बाँकी ५६ अर्ब २० करोड रुपैयाँ नेपाल सरकार/आइएमएफको रहेको छ ।

    सो आयोजनाले आर्थिक बर्ष २०६५/६६ मा निर्माण सुरु गरेर आर्थिक बर्ष २०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य लिएको थियो तर पछि त्यसलाई संशोधन गरेर आर्थिक बर्ष २०७९/८० पुर्याइएको थियो । राणाकालमा चिठ्ठी आदान–प्रदानका लागि प्रयोग हुने भारतीय सीमा नजिकैको सडकलाई नै डेढ दशक पहिले हुलाकी राजमार्ग नामकरण गरिएको थियो । उक्त राजमार्ग पहिले हुलाकी पुल आयोजनाका रूपमा थियो । पहिले भारत सरकारले सबै सडक अनुदानमा निर्माण गर्ने र पुल सरकारले बनाउने सम्झौता भएको थियो । 

    २०६५/६६ सालमा भएको समझदारीमा भारतीय प्राविधिक र निर्माण व्यवसायी उताबाट आएर बनाउने उल्लेख थियो । पछि विभिन्न कारणले त्यो ‘मोडालिटी’मा काम हुन सकेन । आर्थिक बर्ष २०७३/७४ मा हुलाकी राजमार्ग आयोजना निर्देशनालय बनेर हुलाकीको पूर्व–पश्चिम सडकसँगसँगै ‘फिडर रोड’ अघि बढाइएको थियो । 

    पूर्व–पश्चिम र उत्तर–दक्षिणका राजमार्ग गरी जम्मा लम्बाइ १ हजार ८ सय ५७ किलोमिटर र जम्मा पुल सङ्ख्या २ सय ५० रहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । पूर्व–पश्चिम सडक ९ सय ४५, उत्तर–दक्षिण ९ सय १२ किलोमिटर रहेको छ । आयोजनामा हालसम्म वित्तीय प्रगति जम्मा ८३.९८ प्रतिशत रहेको छ । जम्मा ३ सय ७ किलोमिटर सडक निर्माणका लागि भारतीय सरकार अनुदानका रूपमा ८ खर्ब रुपैयाँ सहयोग गरेको छ ।


    images

    Logo