काठमाडौें । काठमाडौँको चोभारस्थित सुक्खा बन्दरगाह (काठमाडौं कन्टेनर फ्रेट स्टेसन) को भौतिक निर्माण सम्पन्न भएको छ । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई थप सहजीकरण गर्ने दीर्घकालीन सोचअनुरूप राजधानीमा सुक्खा बन्दरगाह निर्माण गरिएको हो ।
बन्दरगाहको सञ्चालन मोडालिटी तय गर्न समिति गठन गरी काम अगाडि बढाइएको इन्टर मोडल यातायात विकास समितिले स्पष्ट पारको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन सुक्खा बन्दरगाह तयार गरिएको बताए ।
नयाँ संरचना सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण सम्पन्न भए पनि अझै धेरै काम गर्न बाँकी छ । नेपालका लागि यो नयाँ संरचना भएकाले नयाँ प्रयोगमा ल्याउन बन्दरगाहको सञ्चालन मोडालिटी तय गर्न समिति गठन गरिएको छ । समितिले गृहकार्य समेत थालिसकेको छ । गजुरेलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहालको संयोकत्वमा समिति गठन गरी मोडालिटी तय गर्ने काम सुरु गरिएको जानकारी दिए ।
समितिको सदस्यमा भन्सार विभाग र इन्टर मोडल यातायात विकास समितिको प्रतिनिधित्व रहनेभएको छ । कार्यकारी निर्देशक गजुरेलका अनुसार समितिले सो सुक्खा बन्दरगाह कुन मोडेलमा कसरी सञ्चालन गर्नेबारे सुझावसहितको प्रतिवेदन दिनेछ ।
यो बन्दरगाह सञ्चालनसँगै अहिलेसम्म सामान आयातमा लाग्दै आएको समय र लागतमा उल्लेखनीय रूपमा कमी आउने अधिकारीहरूको भनाइ छ । मुलुकको व्यापार प्र्रवद्र्धनका लागि अहिले पूर्वाधार व्यवस्थापनको समस्या रहेको छ । मौजुदा सो समस्याको समाधानका लागि चोभारको सुक्खा बन्दरगाहलाई सरकारले उच्च प्राथमिकतामा राखी निर्माण गरी सञ्चालनमा ल्याउन लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघ ३ गते सो बन्दरगाह निर्माणको शिलान्यास गर्दै यो बन्दरगाह सञ्चालनले विदेशी सामान निर्यात गर्न मात्रै होइन, स्वदेशी सामान आयात गर्ने ढोकासमेत खुल्ने विश्वास व्यक्त गरे । यो बन्दरगाह निर्माणका लागि नेपाल सरकार र विश्व बैङ्कबीच सन् २०१३ भएको सहमतिअनुसार सन् २०१९ भित्रै यो बन्दरगाह बनाइसक्नुपर्ने थियो ।
कार्यकारी निर्देशक गजुरेलले भने, ‘यो मुलुकको भन्सार क्षेत्रकै लागि नयाँ प्रयोग हो । अहिलेसम्म सीमा नाकामा गरिने भन्सार जाँचपास अब काठमाडौंमा गरिने छ । मोडालिटी तय गर्न केही महिनाको समय लाग्न सक्छ ।’ स्पष्ट मोडालिटी बिना हतारमा सञ्चालन गर्दा राम्रो प्रतिफल नआउन सक्छ । गोरखापत्र दैनिकबाट


