काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा नेपाल भित्रिने रेमीट्यान्स २४.२ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८/८० को सोही अवधिमा ०.२ प्रतिशतले घटेको रेमीट्यान्स ७९/८० मा बढेर ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।
चैत महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३,८७,८३९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २,१७,९५९ पुगेको छ । अघिल्लो वर्षको सोहीअवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो ।
सो अवधिमा महंगी ७.७६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सो अवधिमा उक्त वृद्धिदर ७.२८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशतले महंगी बढेको छ । २०७८ चैत महिनामा यी क्षेत्रहरुमा महंगी क्रमशः ६.२५ प्रतिशत, ७.६१ प्रतिशत, ७.७९ प्रतिशत र ८.२५ प्रतिशत रहेको थियो ।
शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँले बचतमा रहेको छ । गत आर्थिक वर्षको सो अवधिमा २ खर्ब ६८ अर्ब रुपैयाँ घाटामा रहेको उक्त रकम यस वर्ष बढेको हो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको छ ।
चैत सम्ममा विदेशी विनिमय सञ्चिति १४ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा १२ अर्ब १५ करोड रुपैयाँ रहेको उक्त रकम चैत मसान्त सम्म आइपुग्दा १७.९ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा अघिल्लो आर्थिक वर्षको अन्तिममा ९ अर्ब ५४ करोड रहेको यस्तो सञ्चिति २०७९ चैत मसान्तमा १४.८ प्रतिशतले बढेर १० अर्ब ९४ करोड कायम भएको छ ।


