काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७८/७९ को पहिलो १५ दिनमै करिब डेढ अर्बको आईपीओ निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले ३ कम्पनीलाई उक्त परिमाणमा आईपीओ निष्कासन गर्न स्वीकृति प्रदान गरेको हो ।
यसरी आईपीओ निष्कासनको अनुमति पाउने कम्पनीहरुमा न्यादी हाइड्रोपावर कम्पनी, साहस उर्जा, बुद्धभूमि नेपाल हाइड्रोपावर रहेका छन् ।
न्यादी हाइड्रोपावरले ४० करोड ५० लाख रुपैयाँ बराबरको वितरण गर्न लागेको हो । त्यस्तै, साहस उर्जाले १ अर्ब ५ करोड रुपैयाँ तथा बुद्धभूमि हाइड्रोपावरले १२ करोड रुपैयाँ बराबरको शेयर निष्कसन गर्न अनुमति पाएका हुन् । यो शेयर आयोजना प्रभावित तथा स्थानीयवासी एवं सर्वसाधारणका लागि छुट्टाछुट्टै जारी हुनेछ ।
त्यसो त बोर्डले गत आर्थिक वर्षको अन्तिम दिन स्वीकृत गरेका ३ कम्पनीको आईपीओ निष्कासनको अन्तिम चरणमा छन् । सानिमा लाइफ इन्स्योरेन्स मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र सामलिङ हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनका लागि आह्वानपत्र प्रकाशन समेत गरिसकेका छन् ।
सानिमा लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ साउन २० गतेदेखि ल्याउँदैछ । त्यस्तै, मानुषीले ३ करोड ९३ लाख रुपैयाँ बराबरको आईपीओ भने साउन २७ गतेदेखि बिक्री गर्नेगरी आह्वानपत्र प्रकाशन गरेको छ ।
उता सामलिङले १३ करोड ३० लाख रुपैयाँ बराबरको शेयर निष्कासन गर्न लागेको छ । सो कम्पनीको शेयर स्थानीयवासी तथा सर्वसाधारण शेयरधनीका लागि छुट्टाटुट्टै वितरण हुनेछ ।
त्यसो त अघिल्लो आर्थिक वर्षको अन्तिम समयमा निष्कासन अनुमति पाएका मैलुङखोला हाइड्रोपावरको शेयर यतिबेला बिक्री भइरहेको छ । सो कम्पनीले ७ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने अनुमति प्राप्त गरेको थियो ।
| कम्पनीको नाम | निष्कासन हुने रकम | |
| सानिमा लाइफ इन्स्योरेन्स | ६० करोड | साउन २० गतेदेखि |
| मानुषी लघुवित्त | ३ करोड ९३ लाख | साउन २७ गतेदेखि |
| सामलिङ हाइड्रोपावर | १३ करोड ३० लाख | |
| मैलुङखोला हाइड्रोपावर | ७ करोड ३६ लाख | |
| न्यादी हाइड्रोपावर कम्पनी | ४० करोड ५० लाख | |
| साहस उर्जा | १ अर्ब ५ करोड | |
| बुद्धभूमि नेपाल हाइड्रोपावर | १२ करोड |


