काठमाडौं । सिनर्जी हाइड्रोपावरले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट पहिलोपटक लाभांश घोषणा गरेको छ । कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बराबरको बोनस शेयर र कर प्रयोजनका लागि लाग्ने नगद लाभांश घोषणा गरेको हो ।
कम्पनीको सञ्चालक समितिको आइतबार बसेको बैठकले बोनस शेयर र नगद लाभांशका अतिरिक्त हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत गरेको छ । कम्पनीले बोनस शेयर जारी गरेपश्चात् कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत बराबर हकप्रद शेयर जारी गर्न लागेको हो ।
पुँजी ६५ प्रतिशतले बढ्ने
सिनर्जी पावरले गरेको बोनस र हकप्रदसम्बन्धी उक्त प्रस्ताव पारित भए कम्पनीको चुक्ता पुँजी ६५ प्रतिशतले बढ्नेछ । हाल कम्पनीको पुँजी ७३ करोड २२ लाख ५० हजार रुपैयाँ छ । १० प्रतिशत बोनस शेयरपछि गर्दा चुक्ता पुँजी ८० करोड ५४ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।
सो पुँजीको ५० प्रतिशतले हुने हकप्रद शेयर जारी गर्दा कम्पनीले ४० करोड २७ लाख ३७ हजार ५ सय रुपैयाँ बराबरको पुँजी थपिनेछ । यसो हुँदा सिनर्जीको चुक्ता पुँजी १ अर्ब २० करोड ८२ लाख १२ हजार ५ सय रुपैयाँ पुग्नेछ । यो अहिलेको चुक्ता पुँजीभन्दा ६५ प्रतिशत बढी हो ।
यसको अर्थ हकप्रद र बोनस शेयरपछि सिनर्जी हाइड्रोपावरका लगानीकर्ताकोे शेयर ६५ प्रतिशतले बढ्नेछ ।


