images
images

कृषि विकास बैंकको नाफा ३ अर्ब ६९ करोड, प्रतिशेयर आम्दानी ३० रुपैयाँ


  • 6.9K
    SHARES
  • २०७८ श्रावण २७ गते बुधबार

    कृषि विकास बैंकको नाफा ३ अर्ब ६९ करोड, प्रतिशेयर आम्दानी ३० रुपैयाँ

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडले झण्डै पौने ४ अर्ब रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०७७÷७८ मा बैंकले ३ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षमा कमाएको नाफाभन्दा १०.८९ प्रतिशत बढी हो । 

    यसरी नाफा बढ्नुमा बैंकले व्यापारमूलक गतिविधिबाट कमाएको आम्दानी र इम्पेरिमेन्ट चार्जमा छुट्याउनुपर्ने रकममा गिरावट आउनु प्रमुख कारण देखिएको छ । बैंकले व्यापारमूलक गतिविधि र अन्य सञ्चालन आम्दानीबाट एक वर्षमा १ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो करिब ४३ करोड रुपैयाँ मात्रै थियो । 

    त्यस्तै, बैंकले खराब ऋणको व्यवस्थाका लागि छुट्याउनुपर्ने इम्पेरिमेन्ट चार्ज यो वर्ष २ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यस्तो रकम ५१ करोड रुपैयाँ थियो ।

    बैंकको खुद ब्याज आम्दानी तथा शुल्क तथा कमिसन आम्दानी भने यो वर्ष घटेको छ । अघिल्लो वर्ष ६ अर्ब ७१ करोड रहेको खुद ब्याज आम्दानी ६ अर्ब २६ करोडमा झरेको छ । त्यस्तै शुल्क तथा कमिसनसम्बन्धी आम्दानी पनि १ अर्ब ८७ करोडबाट १ अर्ब ५१ करोडमा झरेको छ । 

    नाफा उच्च भए पनि बैंकले शेयरधनीलाई बाँड्न मिल्ने नाफा भने १ अर्ब ७३ करोड रुपैयाँ मात्रै छ । ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको अग्राधिकार शेयरसहित १६ अर्ब चुक्ता पुँजी भएको बैंकले अग्राधिकार शेयरबापत सरकारलाई ६ प्रतिशत लाभांश दिनुपर्छ । बाँकी रहेको रकम मात्रै शेयरधनीलाई बाँड्न सकिन्छ । 

    १ अर्ब ७३ करोड रुपैयाँमा अग्राधिकार शेयरबापत करिब ३२ करोड ६० लाख रुपैयाँ छुट्याउँदा बाँकी रहेको १ अर्ब ४० करोड रुपैयाँ साधारण शेयरधनीले प्राप्त गर्न सक्छन् । यो करिब १३ प्रतिशत हो । 

    बैंकले यो अवधिमा निक्षेप संकलन १ खर्ब ४३ अर्बबाट बढाएर १ खर्ब ६३ अर्ब पुर्याएको छ भने कर्जा प्रवाह १ खर्ब २१ अर्बबाट बढाएर १ खर्ब ५२ अर्ब पुर्याएको छ । 

    यो वर्ष बैंकको निष्क्रिय कर्जा अनुपातमा उच्च सुधार भएर १.८४ प्रतिशतमा झरेको छ । कस्ट अफ फण्ड ४.७० प्रतिशतमा झरेको छ । आधार दर ७.१३ प्रतिशत तथा ब्याजको स्प्रेडदर ४.३७ प्रतिशत रहेको छ । पुँजीकोष अनुपात २३.१३ प्रतिशत रहेकोले बैंक व्यवसाय विस्तारको सहज अवस्थामा रहेको देखिन्छ ।


    images

    Logo