images
images

गरिमा विकास बैंकको नाफा ४३% ले बढ्यो, लाभांश क्षमता १६ रुपैयाँ माथि


  • 797
    SHARES
  • २०७८ श्रावण २८ गते बिहीबार

    गरिमा विकास बैंकको नाफा ४३% ले बढ्यो, लाभांश क्षमता १६ रुपैयाँ माथि

    काठमाडौं । गरिमा विकास बैंकको नाफा ४३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७७/७८ मा बैंकले ८२ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष सो बैंकको नाफा ५७ करोड ७२ लाख रुपैयाँ मात्रै थियो । 

    सञ्चालन आम्दानीमा भएको वृद्धिका कारण गरिमाको यो नाफा वृद्धि सम्भव देखिएको हो । अघिल्लो वर्ष ११ करोड रुपैयाँ रहेको यस्तो आम्दानी बढेर यो वर्ष ३२ करोड रुपैयाँ पुगेको देखिएको छ । 

    त्यसो त, व्यवसायिक क्रियाकलापबाट बैंकले गरेको आम्दानी पनि सन्तोषजनक नै देखिन्छ । यो वर्ष बैंकले खुद ब्याज आम्दानीलाई १ अर्ब ६२ करोडबाट बढाएर १ अर्ब ९३ करोड पुर्याएको छ । त्यसबाहेक खुद शुल्क तथा कमिसन आम्दानीलाई २८ करोडबाट बढाएर ३९ करोड पुर्याएको छ । 

    खर्चतर्फ बैंकको कर्मचारी र सञ्चालन खर्च सामान्य रुपमा दुवै बढेका छन् । इम्पेरिमेन्ट चार्ज २३ करोडबाट बढेर ४० करोड रुपैयाँ पुग्दा बैंकको नाफामा धक्का लागेको छ । 

    व्यवसाय विस्तारतर्फ बैंकले निक्षेपमा ५० प्रतिशत वृद्धि गर्दै ६३ अर्ब पुर्याएको छ भने कर्जा प्रवाह पनि सोही हाराहारीमा बढाएर ५१ अर्ब पुर्याएको छ । 

    गरिमाले आफ्ना शेयरधनीलाई बाँड्न मिल्ने नाफा ६० करोड ५७ लाख रुपैयाँ रहेको जनाएको छ । ३ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकका लागि यो नाफा प्रतिशेयर करिब १६.५० रुपैयाँ हो । 

    यो वर्ष बैंकको निष्क्रिय कर्जा अनुपातमा सामान्य सुधार भएर ०.७२ प्रतिशतमा झरेको छ । कस्ट अफ फण्ड ६.१७ प्रतिशतमा झरेको छ । आधार दर ८.१७ प्रतिशत तथा ब्याजको स्प्रेडदर ४.५० प्रतिशत रहेको छ । पुँजीकोष अनुपात ११.४२ प्रतिशत रहेको छ । 


    images

    Logo