काठमाडौं । माछापुच्छ्रे बैंकले झन्डै २९ प्रतिशत नाफा बढाएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ६३ करोड ६ लाख रुपैयाँ नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब २६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो । अहिले कमाएको नाफा अघिल्लो वर्ष भन्दा २८.८९ प्रतिशत बढी हो ।
उक्त नाफामध्ये बैंकले १ अर्ब १३ करोड रुपैयाँ शेयरधनीहरुलाई वितरण गर्नसक्ने अवस्था रहेको जनाएको छ । यो वितरणयोग्य नाफा बैंकको हाल कायम रहेको ९ अर्ब ५ करोड रुपैयाँको १२ प्रतिशत भन्दा बढी हो ।
नाफामा सामान्य मात्रै सुधार देखिए पनि माछापुच्छ्रे बैंकको यो वृद्धि सन्तुलित देखिएको छ । बैंकले ब्याज आम्दानी, शुल्क तथा कमिसन आम्दानी बढाएको छ । व्यापारमूलक तथा अन्य सञ्चालन आम्दानी भने यो वर्ष घटेको छ ।
बैंकले इम्पेरिमेन्ट चार्जमा बैंकले छुट्याउनुपर्ने रकम यो वर्ष घटेको छ । अघिल्लो वर्ष झन्डै ५६ करोड इम्पेरिमेन्ट चार्जमा छुट्याएको बैंकको यस्तो प्रोभिजन ४९ करोडमा झरेको छ ।
बैंकले यो वर्ष निष्क्रिय कर्जा अनुपात सामान्य बढेर ०.६२ प्रतिशत पुगेको छ यद्यपि यो बैंक अझै पनि निकै कम एनपीएल भएका बैंकमध्ये पर्छ ।
बैंकको कस्ट अफ फण्ड र ५.२९ र आधारदर ७.२६ प्रतिशत रहेको छ । ब्याजको स्प्रेडदर ३.८२ प्रतिशत रहेको बैंकले जनाएको छ ।


