काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ७९ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ मा सो बराबरको नाफा कमाएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १३.२९ प्रतिशत कम हो ।
यो वर्ष बैंकको खुद ब्याज आम्दानी १ अर्ब भन्दा बढीले घटेको छ । शुल्क तथा कमिसनसम्बन्धी आम्दानी बढेको छ भने व्यापारमूलक आम्दानी घटेको छ । अन्य सञ्चालन आम्दानी भने स्थिर रहेको छ ।
नाफा घटे पनि बैंकले व्यवसाय विस्तार भने सन्तुलित रुपमा गरेको छ । निक्षेपमा ३४ अर्ब वृद्धि गरेर २ खर्ब ६४ अर्ब पुर्याएको छ भने कर्जा प्रवाह २८ अर्ब रुपैयाँले बढाएर १ खर्ब ७८ अर्ब रुपैयाँ पुर्याएको छ ।
यो वर्ष बैंक नाफा घटे पनि वितरणयोग्य नाफा भने बढेको छ । रेगुलेटरी रिजर्भमा छुट्याउनुपर्ने रकम भन्दा फिर्ता आउने रकम बढी भएपछि बैंकले यस्तो नाफा ४ अर्ब ५२ करोड रुपैयाँ कायम गरेको छ । पूर्ण सरकारी स्वामित्व भएको यो बैंकले यो वर्ष सरकारलाई ४४ प्रतिशतसम्म लाभांश दिने क्षमता राख्छ ।


