निर्माण व्यवसाय क्षेत्रमा नाम चलेका कम्पनी हुन् इलाइट कन्ट्रक्सन र एसभिए । यी कम्पनीका अध्यक्ष हुन् सुरेन्द्रराज पौडेल । पेट्रोलियम पदार्थ र एलपी ग्यासको व्यवसायमा पनि पौडेल अगाडि छन् । तर, निर्माण ब्यवसायमा नै उनलाई बढी सन्तुष्टि मिल्छ ।
आजका मितिमा धेरैजना निर्माण ब्यवसायी बदनाम छन् । उनीहरु किन बदनाम भए ? ठेकेदारले समयमा नै काम किन सक्दैन ? पिच गरेको बाटो किन चाँडै भत्किन्छ ? हावाले पुल कसरी भत्काउँछ ? यी लगायतका आम मानिसको मनमा रहेका प्रश्नहरु हामीले सोधेका छौं, ‘क’ वर्गको उनै निर्माण ब्यवसायी कम्पनीको नेतृत्वकर्ता सुरेन्द्रराज पौडेललाई । प्रस्तुत छ, पौडेलसँग नेपालअर्थ डटकमका लागि दिवस गुरागाईँले गरेको कुराकानीको सम्पादित अंश :–
आम जिज्ञासाबाट कुरा सुरु गरौं, निर्माण भएको पुल र पिच भएको बाटोको आयु हुन्छ कि हुँदैन ? कति हुन्छ ?
– आयु हरेक कुराको हुन्छ । जसरी मान्छेको आयु हुन्छ, त्यसैगरी पुल र पिचको पनि आयु हुन्छ । एउटा फलामको आयु हुन्छ कि हुँदैन भनेर पनि प्रश्न उठाउन सकिन्छ । त्यो फलामलाई कसरी प्रयोग गरिन्छ भन्ने कुराले त्यसको आयु निर्धारण हुन सक्छ । त्यसैगरी पुल र पिचको आयु पनि त्यसको निर्माण प्रक्रिया र प्रयोगको हिसाबमा निर्धारण गर्न सकिन्छ ।
यो त, अलि अमूर्त जवाफ भयो । आम मान्छेले बुझ्ने भाषामा यसको जवाफ छैन ?
– म बुझ्ने भाषामा नै भनिरहेको छु । जस्तै कोटेश्वरमा जापनिज कम्पनीले बाटो बनायो । जापानिजले एक किलोमिटर बाटो बनाउँदा लाग्ने खर्चमा हामी ५० किलोमिटरसम्म बनाउँछौं । अर्को कुरा उसले बर्षामा बाटो बनाउँदैन । माटोको जाँच गरेर त्यो माटो काम नलाग्ने छ भने फिलिङ गराउँछ, १० फिटसम्म पनि । हामी १० सेन्टिमिटरमा काम चलाउन खोज्छौं । उनीहरु गहिरो अध्ययन गर्छन् । हामीलाई असार मसान्तपछि बजेट फ्रिज हुन्छ भन्ने डर हुन्छ । यी दुईखाले सोच र व्यवहारबाट निर्मित पिचको तुलना हुन्छ र ? भन्न खोजेको के हो भने आयुको महत्वपूर्ण मापन अध्ययन हो । लगानी हो ।
भनेपछि तपाईंहरुले अहिलेसम्म राम्रो लगानी र अध्ययन गरेर पिच गर्न पाउनु भएको छैन ?
– मैले आम समस्या भनेको हो । हाम्रो कम्पनीले धेरैवटा उत्कृष्ठ काम गरेको छ, वाहवाही पाउनेगरी । जस्तो कास्कीको हेम्जा सडक । त्यो नमूना सडक हो । पोखरा लेकसाइड र त्यस आसपासका सडक प्रयोग गर्नेले धन्यवाद नै दिनुहुन्छ होला । ती सडक बनाउन हामीले पहिला राम्रोसँग अध्ययन गर्न पायौं । सोचेर डिजाइन गर्न पायौं । मौसम अनुकुल बनाएर पिच गर्न पायौं । यसले गर्दा ती सडक गौरव गर्न लायक बने ।

तपाईंहरुले निर्माण गरेर दिएको एउटा पुल र बाटो कति समय चल्नुपर्छ ? सरकारले तोकेको छैन ?
– सरकारले तोकेको छ । पिच बाटो एक वर्षसम्म निर्माण कम्पनीले मेन्टिनेन्स गर्नुपर्छ । पुलको सवालमा चाहिँ दुईवटा मापदण्ड छन् । सरकारले आफैं डिजाइन गरेर दिएको प्रोजेक्ट एक वर्ष र डिजाइन बिलमा बनेको पुल ५ वर्षसम्म भत्कियो भने कम्पनी जिम्मेवार हुनुपर्छ ।
अचेल हावाले पुल भत्कियो भनेर पनि बयान आउँछ । यो पत्याउँदो कुरो हो ?
– हावाले पुल भत्किन्छ । त्यसमा अन्यथा मान्नु हुँदैन । किनभने खोलामा हावाको प्रेसर बढी हुन्छ । जब पुल बनाउन स्टेचिङ उठाइएको हुन्छ त्यसबला बेगले एउटा स्टेचिङ थोरैपनि हल्लायो भने पुरै पुल भत्किन सक्छ । तर यसको सम्भावना अत्यन्तै न्यून हुन्छ ।
धेरै पुल बनाउनेमा तपाईंको कम्पनी निकै अगाडि छ । कतिको संख्यामा भत्किएका छन्, तपाईंले बनाएका पुल ?
– निश्चय नै मैले धेरै पुल बनाएको छु । यो कम्पनीको सुरुवात नै पुल बनाएर भएको हो । अर्को भाषामा भन्नुपर्दा यो कम्पनीको जन्म नै आजभन्दा २५ बर्ष अघि पुलबाट भएको हो । सल्यानको शारदा पुल हो त्यो ।
हाम्रो कम्पनीले अहिलेसम्म डेढ–दुई सय पुल बनाएर हस्तान्तरण गरिसकेको छ । सन्तुष्टि के मा छ भने व्यक्तिगत रुपमा हामीलाई कुनैपनि खाले समस्या परेको छैन । मैले बनाएको कुनैपनि पुल भत्केको इतिहास छैन । अहिलेसम्म कम्प्लेन पनि छैन ।
तर, नेपाली निर्माण व्यवसायी त बदनाम छन् नि, त्यस्तो लाग्दैन ?
– सबै निर्माण व्यवसायी बदनाम छैनन् । कुनैपनि क्षेत्रका सबका सब मानिस असल पनि हुन्नन् । हाम्रो क्षेत्रमा पनि केही मानिसका कारण पुरै क्षेत्रमा आक्षेप आएको हो । तर, यसको दोषी राज्य हो । व्यवसायी दोषी होइनन् ।
झोलामा ‘प्रोजेक्ट’ बोक्ने तर काम नगर्ने त व्यवसायी नै हुन् नि ?
– यसको दोष व्यवसायीको हो जस्तो देखिन्छ । तर, मुल दोषी सरकार नै हो । धेरैजसो प्रोजेक्ट ढिलो हुनुमा सरकारी निकाय किन दोषी हुन्छ भने बाटोको कानुनी लफडा नसकिँदै टेन्डर खोलिन्छ । त्यसैगरी समयमा नै बजेट निकासा गरिदैन । यस्ता अड्चन धेरै हुन्छन् । यसले गर्दा झोलामा ‘प्रोजेक्ट’ जस्तो देखिन्छ ।
अर्को कुरा, एउटा प्रोजेक्टको काम समयमा पुरा गर्न नसक्ने निर्माण व्यवसायीलाई अर्को काम थपेर दिने कस्ले हो ? हैसियतभन्दा बढी काम माग्दैमा दिने कस्ले हो ?
कतै पिच वा पुल भत्कियो भने नेपाली ठेकेदारले होला भनिन्छ । नेपाली ठेकेदारको यो इमेज कसरी बन्यो ?
– काम सम्पन्न भएपछि ठीक छ भनेर पास गर्ने कस्ले हो ? पास गर्ने निकाय त अर्कै हो । तर, आक्षेप निर्माण व्यवसायीलाई आउँछ । सरकारले गरिदिनुपर्ने प्रोसेस नगरिदिएका कारण ढिलो भएको हुन्छ । तर, ढिलासुस्तीको दोष हामीले व्यहोर्नु पर्छ । यो दुखद पक्ष हो ।

अहिलेसम्मको कुराकानीमा सम्पूर्ण दोष सरकारी निकायलाई लगाउनुभयो । निर्माण व्यवसायीको चाहिँ दोष छैन ?
– निर्माण व्यवसायीका पनि दोष छन् । खासगरी ‘एडभान्स् पेमेन्ट’ लिने र अन्यत्र लगानी गर्ने गरेको पाइन्छ । अर्को कुरा समयमा काम सम्पन्न नगरिदिने । योग्यता क्षमताभन्दा बढी काम लिने । तर, उनीहरुलाई कानुनी दायरामा ल्याउन नसक्नु पनि सरकारकै कमजोरी हो ।
के भयो भने नेपाली निर्माण व्यवसायीको इमेज सुध्रिन्छ ?
– मैले अघि भनेजस्तै, योग्यता र क्षमताभन्दा बढी काम नलिने, नदिने । समयमा काम सम्पन्न गर्ने÷गराउने । एडभान्स पेमेन्ट लिएर अन्यत्र लगानी गर्ने कार्य रोक्ने । एडभान्स पेमेन्ट नै नदिने व्यवस्था गरे झनै राम्रो । संख्या रोकेर गुणस्तरको काम गर्ने नीति राज्यले अख्तियार गर्ने । यत्ति गरे पुग्छ ।


दिवस गुरागाईं
