काठमाडौं । उद्योग विभागले चिनीलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने उद्योगहरुलाई आयातका लागि आवेदन दिन सक्ने बताएको छ । बिहीबमर सूचना जारी गर्दै विभागले उद्योगलाई आवश्यक पर्ने चिनी आयातका लागि एक साताभित्र आवेदन दिन आग्रह गरेको हो ।
नेपाल सरकारको अनुरोध बमोजिम भारतबाट नेपाललाई कोटा अन्तर्गत २५ हजार मेट्रिक टन चिनी प्राप्त हुने भएको छ । सो परिमाणमध्ये कच्चा पदार्थको रूपमा प्रयोग गर्ने उद्योगहरूले आफूलाई आवश्यक पर्ने चिनी आयातका लागि विभागका आवेदन दिनु पर्नेछ ।
आवेदन दिँदा उद्योगको नाम, ठेगाना, सम्पर्क नम्बर, दर्ता नम्बर, दर्ता भएको निकाय र दर्ता मिति, उद्योगको वार्षिक खपत परिमाण, गत वर्षको खपत परिमाण, कोटा अन्तर्गत आयात गर्न इच्छुक परिमाण र हाल उद्योग सञ्चालनमा रहेको वा नरहेको अवस्था उल्लेख गर्नुपर्ने विभागले बताएको छ ।
सूचनामा उल्लेख गरिए अनुसार आवेदन विभागको इमेलमार्फत् वा भौतिक रूपमा विभागमा गएर दिन सकिनेछ । चिनी आयात गर्दा उद्योगीले न्यूनतम परिमाण दुई हजार ६ सय मेट्रिक टन गर्नुपर्ने सूचनामा उल्लेख छ ।


