images
images

२१६ मेगावाटको माथिल्लो त्रिशुली–१ आयोजनाको निर्माण सुरु, सर्वसाधारणलाई ३० प्रतिशत आईपीओ


  • 526
    SHARES
  • २०७८ भाद्र ३ गते बिहीबार

    २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ आयोजनाको निर्माण सुरु, सर्वसाधारणलाई ३० प्रतिशत आईपीओ

    काठमाडौ । माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भएको छ । मंगलबार भूमिगत विद्युतगृह जान प्रयोग हुने ‘भेन्टिलेसन टनेल’को कामसुरु भएसँगै वैदेशिक लगानीमा रसुवामा बन्न लागेको २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको निर्माण सुरु भएको  हो । २४६ मिटर भेन्टिलेसन टनेल निर्माणका लागि चट्टान फोर्न मंगलबार पहिलो बिष्फोट गराइएको थियो । मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य सुरुङलगायतका संरचना निर्माण सुरु गरिएको हो । 

    दुई सय श्रमिकहरु सहित आयोजना स्थलमा क्रसर प्लान्ट तथा ब्याचिङ प्लान्टको स्थापना, निर्माण सामाग्रीहरुको परीक्षण, पहुँच सडकका लागि त्रिसूली नदीमा बेली ब्रिजको निर्माण, बाँधलगायतका संरचना निर्माणका लागि रुख कटान, सर्च ट्याङतर्फको पहुँच सडक निर्माण लगायतका काम धमाधम भइरहेको छ । 

    आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान ले ठेक्का लिएको छ ।   
    उक्त उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको हालसम्मकै ठूलो जलविद्युत आयोजना हो । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन  विश्व बैक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम लगायतको शेयर लगानी रहेको छ । साथै आयोजना प्रभावित स्थानीयको लागि अधिकतम १० प्रतिशतसम्म शेयर लगानी सुनिश्चित गरिएको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । 

    कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) रहेको आयोजनामा ९ अन्तराष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता भएको छ । बाँकी रकम स्वपुँजी (ईक्विटी)बाट जुटाइएको हो । 

    आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुने छ । उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशुली–३ बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ ।  

    काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युतको अध्याधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने छ । आयोजनाको निर्माण २०८३ को मंसिरभित्र सक्ने लक्ष्य राखिएको हो ।  


    images

    Logo