काठमाडौं । लघुवित्तमा काम गर्ने कर्मचारीलाई संस्था परिवर्तनमा कडाइ गरिने भएको छ । जथाभाबी रुपमा एउटा संस्था छोडेर अर्को संस्थामा जाने प्रवृत्ति बढेपछि लघुवित्त संस्थाहरुको पहलमा यस्तो कडाइ गर्न लागिएको हो ।
माइक्रोफाइनान्स एशोसियसन अफ नेपाल (एमफान) को आयोजनामा बिहीबार र शुक्रबार काठमाडौंमा भएको लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको सम्मेलनमा एउटा संस्थाबाट राजीनामा स्वीकृत नभइ अर्को संस्थामा नियुक्ति नदिइने सहमति भएको छ । कार्यक्रमपछि जारी गरिएको ९ बुँदे घोषणापत्रमा समेत उक्त विषय समावेश गरिएको छ ।
घोषणापत्रमा दोहोरो सदस्यता, सूचना प्रविधिको प्रयोग विस्तार, ग्राहक संरक्षण लगायतका विषयहरुमा समेत छलफल भएको थियो ।
यस्तो छ, एमफानको घोषणापत्रका ९ बुँदा
१. शाखा कार्यालय विस्तार गर्दा सदस्य दोहोरोपना नहुने गरी कार्यक्रम सञ्चालन गर्ने ।
२. कर्मचारीलाई नियुक्त गर्नुपूर्व अघिल्लो लघुवित्त संस्थाको राजीनामा स्वीकृति प्राप्त भएको पत्र लिने । कर्मचारीहरुको दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने र समय सान्दर्भिक सेवा सुविधा प्रदान गर्न उपयुक्त हुने ।
३. सूचना प्रविधिको अधिकतम उपयोग गरी संस्थाको लागत कम गर्ने, ग्राहक सदस्यलाई पारदर्शी रुपमा कारोवारको जानकारी दिने ।
४. लघुवित्त क्षेत्रलाई दिगो रुपमा सञ्चालन गर्न ग्राहक संरक्षणका सिद्धान्तहरुको परिपालना गर्ने ।
५. अनुगमन र निरीक्षण, ऋण विश्लेषण तथा सदुपयोगिता जाँचको प्रभावकारितामा वृद्धि गर्ने ।
६. कर्जा सूचना केन्द्र मार्फत अनिवार्य अनलाइन साख सूचना लिई कर्जा प्रदान गर्ने ।
७. जिल्ला समन्वय समिति, गाउँपालिका, नगरपालिका लगायत अन्य प्रशासनिक निकायहरुका पदाधिकारीहरुलाई लघुवित्त कार्यक्रमको प्रभावकारिता सम्बन्धी जानकारी तथा समन्वय गर्ने ।
८. सोसियल बिजनेश कार्यक्रमलाई प्रवर्द्धन गर्न विभिन्न किसिमका सम्बन्धित कार्यक्रमहरु गर्ने ।
९. लगानीकर्तालाई लघुवित्त सम्बन्धी महत्वबारे जानकारी गराउन कार्यक्रमहरु सञ्चालन गर्ने ।


