काठमाडौँ । आर्थिक बर्ष २०७८/७९ पहिलो महिनामै बैंकहरुको निक्षेप र कर्जाको अन्तर ह्वात्तै बढेको छ । साउनमा मात्रै बैंकको निक्षेप ७८ अर्ब रुपैयाँले पलायन भएको छ भने कर्जा प्रवाह ४३ अर्ब रुपैयाँले बढेको छ ।
असार मसान्तमा ४२ खर्ब १ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप घटेर साउन मसान्तमा ४१ खर्ब २३ अर्ब रुपैयाँमा झरेको छ । जसमा स्वदेशि मुद्राको निक्षेप ३९ खर्ब ९५ अर्ब रुपैयाँ तथा विदेशि मुद्राको निक्षेप १ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ ।
सो अवधिमा बैंकहरुले कर्जा प्रवाह बढाएर ३७ अर्ब ६४ करोड रुपैँया बढाएका छन् । उक्त रकम असार मसान्तमा ३७ खर्ब २१ अर्ब रुपैयाँ रहेको थियो । बैंकहरुले १ महिनामा ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।
बैंकर्स संघको रिपोर्टअनुसार भदौ महिनाको ४ दिनमा बैंकहरुको ६ अर्ब रुपैयाँ निक्षेप घटेको छ । योसँगै बैंकहरुको निक्षेप ४१ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । जसमा स्वदेशि मुद्रा निक्षेप ३९ खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ भने विदेशि मुद्रा निक्षेप १ खर्ब २२ अर्ब रुपैयाँ रहेको छ ।
सोहि अवधिमा बैंकहरुको कर्जा प्रवाह १४ अर्ब रुपैयाँले बढेको छ । यो सँगै बैंकहरुको कर्जा प्रवाह ३७ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ ।
यो अवधिमा बैंकहरुको निक्षेप ८४ अर्बले पलायन भएको छ भने कर्जा प्रवाह ५७ अर्ब रुपैयाँले बढेको छ ।
यो आर्थिक बर्ष दोस्रो महिना भदौ ४ गतेसम्ममा सरकारले १ खर्ब रुपैयाँ राजस्व उठाएको छ भने १८ अर्ब रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । खर्च कटाएर सरकारले ८२ अर्ब रुपैयाँ राजस्व आम्दानी गरेको छ ।
सो अवधिमा बैंकको निक्षेप ८४ अर्बले घटेको छ । सरकारले उठाउने राजस्व आम्दानी बृद्धिभएसँगै बैंकको निक्षेप घटेको हो । बैंकको निक्षेप घट्नुमा जनताले यो एक महिनामा सरकारलाई तिरेको राजस्वमा बृद्धि हुनु रहेको छ ।


