images
images

भन्सार एजेन्टको परीक्षा रोकिँदा १० हजार परीक्षार्थी अन्यौलमा, किन हुँदैछ अलमल ?


  • 764
    SHARES
  • २०७८ भाद्र १४ गते सोमबार

    भन्सार एजेन्टको परीक्षा रोकिँदा १० हजार परीक्षार्थी अन्यौलमा, किन हुँदैछ अलमल ?

    काठमाडौँ ।  भन्सार विभागले लिने भन्सार एजेन्ट छनौट परीक्षा अन्यौलमा परेको छ । विभागले एजेन्टको परीक्षाको लागि चैत्र १६ गते सुचना जारी गरेको थियो । कोरोना महामारीको कारण देखाउँदै स्थगित भएको परीक्षाको लामो समयसम्म पनि टुङ्गो नलाग्दा करिब १० हजार परीक्षार्थी अन्यौलमा परेका छन् । 

    विभागले जेठ २२ गते सुचना जारी गर्दै परीक्षा स्थगित भएको जनाएको थियो । सो समयसम्म ६६० जना एजेन्ट माग गरिएकोमा करिब १० हजार जनाले आवेदन दिएको विभागका निर्देशक शिशिर घिमिरेले बताए ।  

    यो बीचमा त्रिवि लगायतका अन्य विश्वविद्यालयले भौतिक उपस्थितिमा स्नातक तथा स्नातकोत्तर तहका परीक्षा सम्पन्न गरिसकेका छन् । पछिल्लो समयमात्रै संसदको शिक्षा समितिले कक्षा १२ को परीक्षा भौतिक रुपमा गराउनको लागि निर्देशन दिइसकेको छ । लाखौँ विद्यार्थीहरु सम्मिलित परीक्षा भइसक्दा पनि भन्सार विभागले १० हजार परीक्षार्थीलाई सहभागी गराएर परीक्षा गराउन सकेको छैन । 

    किन हुँदैछ अलमल ?

    विभागले परीक्षाको मिति सार्वजनिक गरेपछि कोरोना महामारीको कारण निषेधाज्ञा सुरु भयो । सोही कारण विभागले परीक्षा स्थगित गर्यो । तर, अहिले विभाग परीक्षा लिनको लागि तयार रहेको निर्देशक घिमिरे बताउँछन् । 

    पहिलो चरणमा कोरोनाका कारण स्थगित भएको परीक्षा अहिले विभागको कारण अलमलमा नपरेको उनको भनाइ छ । 

    अहिले भन्सारमा काम गरिरहेका पुराना एजेन्टको १०–१२ जना प्रतिनिधिले सर्वोच्चमा निवेदन दिएका छन् । उक्त निवेदन उपर छलफल नभएसम्म परीक्षा सुचारु नहुने घिमिरेले बताए । 
    भन्सारले नयाँ नियमावली जारी गर्दै २०६५ साल भन्दा अगाडिका भन्सार प्रतिनिधिले डिप्लोमा नगरेको भएपनि आवेदन दिन पाउने र त्यसपछिका प्रतिनिधिले डिप्लोमा अनिवार्य पास गरेको हुनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाले आफुहरुलाई विभेद गरेको भन्दै पुराना एजेन्टका प्रतिनिधिले सर्वोच्चमा निवेदन दिएका छन् । 

    सोही कारण हाललाई सर्वोच्चको आदेश कुरेर बसेको घिमिरेले बताए । लामो समयसम्म परीक्षा रोकिँदा परीक्षार्थिलाई परेको समस्या विभागले बुझेपनि हाल परेको निवेदनमा छलफल नहुँदासम्म परीक्षा अन्यौलमा परेको छ ।  

    यस्तै, विभागले माग गरेको भन्सार एजेन्टको संख्याप्रति असहमति जनाउँदै सर्वोच्च अदालतमा परेको रिटप्रति भन्सार एजेन्ट महासंघले ऐक्यबद्धता जनाएको छ । पुराना काम गरिरहेका एजेन्टका प्रतिनिधिलाई भन्सार एजेन्ट बन्न प्राथमिकता दिनुपर्ने समेत आफुहरुको माग रहेको महासंघका अध्यक्ष भरत घिमिरे बताउँछन् । 

    महासंघले हाललाई २०० एजेन्ट माग गर्ने र आवश्यकता अनुसार बार्षिक रुपमा थप्दै जानुपर्ने माग गरेको अध्यक्ष घिमिरेले जानकारी दिए । हाल भन्सारमा १६० जना एजेन्ट कार्यरत रहेका छन् । 


    images

    Logo