किरण थापा सुर्यविनायक नगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष हुन् । निर्माण व्यवसायमा समेत संलग्न थापाले नगरपालिका वडाध्यक्ष बनेको चार वर्षको अवधिमा आफ्नो वडा तथा समग्र नगरपालिका भित्रको पूर्वाधार विकासमा ठुलो उपलब्धि हासिल गरेका छन् ।
वडाध्यक्षको रुपमा उनले गरेका काम र प्राप्त गरेको उपलब्धिका सन्दर्भमा केन्द्रित भइ थापासँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ :
वडाध्यक्षको रुपमा तपाइँहरुको पहिलो कार्यकाल अन्तिम चरणमा छ, यो अवधिमा तपाईहरुले के के गर्नुभयो ?
पहिलो कुरा हामी निर्वाचित भएर आएपछि लगभग ६५ करोड रुपैयाँको विकास बजेट आएको सम्पुर्ण बजेट पारदर्शी रुपमा बजेट फ्रिज नगराइ सम्पुर्ण खर्च गर्यौँ ।
हामी आउनु भन्दा अगाडि धेरै दुर्घटना हुने अरनिको राजमार्ग अन्तर्गत पर्ने सुर्यविनायक देखि जगातीसम्मको सडकलाई व्यवस्थित गर्यौँ । वडामा रहेका बाटोमध्ये ४ ओटा १२ मिटर साथै गोरेटो बाटोहरुलाई ८ मिटर र ६ मिटर चौडा बनाएर निर्माण गर्यौँ ।
त्यस्तै, ८ किलोमिटर बाटो कालोपत्र, तीनओटा माध्यामिक विद्यालयको भवन निर्माण, दुईवटा पक्की पुल, तीनओटा झोलुङ्गे पुल निर्माणका साथै पृथ्वीनारायण शाहले आक्रमण गर्दा बसेको बोकाचोक गढीलाई पर्यटकीय स्थानको रुपमा विकसित गर्ने कार्य भइरहेको छ ।
यसका साथै शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि उल्लेखनीय कामहरु गरेका छौँ । पछिल्लो चार वर्षमा बनेका १८ सय भन्दा बढी घरहरुमा १३ सय भन्दा धेरै धाराहरु जोड्यौ । नगरपालिका र उपभोक्ता मिलेर ३ करोड रुपैयाँ लागत उठाएर ढल व्यवस्थापनको कार्य भइरहेको छ ।
विकासको हिसाबले हाम्रो वडा नगरपालिकाकै विकास निर्माणको हिसाबले एक नम्बरमा पर्छ । यो पनि हाम्रो उपलब्धि हो ।
अहिले निर्माणधिन रहेका वडाभित्रका पूर्वाधारहरु चाहिँ के के छन् ?
अहिले ३ करोडको सडक विस्तारको योजना, १एक करोड पुल, घ्याम्पेडाँडो सडक खण्ड निर्माणमा २ करोड, झ्यालीपाटी भट्टराई टोलको लागि दुई करोड रुपैँया, डोलेश्वर पाटी भञ्ज्याङका लागि ६ करोडको ठेक्का लागिसकेको छ ।
त्यसैगरी एक करोडको जगाती पुलिसचौकिदेखि डोलेश्वरसम्मको बाटोको काम भइराखेको छ । सहरी विकास मन्त्रालयबाट आएको ५०÷५० लाखको चारओटा योजनाको पनि काम भइराखेको छ । समग्रमा यो बर्ष पनि १५÷१६ करोड बजेटको काम भइराखेको छ । उक्त बजेट प्रदेश, केन्द्र र नगरपालिकामार्फत् आएको बजेट र वडाको वार्षिक बजेट हो ।

काम अघि बढ्न नसकेर रोकिएका नभएका कुनै योजना छन् कि छैनन् ?
अहिलेसम्म हाम्रो वडामा काम सुरु भएर पनि अघि बढ्न नसकेका कुनै योजना छैन । यो एउटा सकारात्मक पक्ष हो ।
तपाईले निर्वाचन घोषणपत्रमा उल्लेख गरेका प्रतिवद्धता कति पूरा भए ?
मैले घोषणापत्रमा लेखेको कामहरु त ३ वर्षमै सम्पन्न भइसकेका छन् । एउटा भ्यु–टावर वन्न बाँकी थियो, त्यो नेपाली सेनाले निर्माण गर्ने जिम्मा लियो । बाँकी सबै काम पोहोर नै सम्पन्न भइसकेका छन् ।
तपाईको पृष्ठभुमि निर्माण व्यवसायीको हो । यो पृष्ठभुमि तपाइँको वडाको विकास निर्माणलाई कति सहयोग गर्यो जस्तो लाग्छ ?
आफैँ निर्माण व्यवसायी भइसकेपछि कसले कस्तो काम गर्छ, लागत कति लाग्छ, कस्ता सामग्री कुन गुणस्तरका हुन् भन्ने थाहा हुन्छ । वडाका योजनाहरुमा यस्ता काममा अनियमितता हुनेसम्भावना कम हुन्छ ।
मेरो पृष्ठभूमिकै कारण आफ्नो वडा तथा नगपालिकाका अन्य वडाहरुमा समेत कतिपय विकास निर्माणका काममा सामानहरु उधारोमा दिएर भएपनि काम सम्पन्न गराएको छु । साथीहरुले पछि बिल भुक्तानी भइसकेपछि नगद ल्याइदिनुहुन्छ । यसले गर्दा कुनै पनि काम रोक्नु पर्दैन ।
तपाईं व्यवसायी समेत भइरहँदा आफ्नो व्यवसाय, वडाध्यक्षको जिम्मेवारी र सामाजिक कार्यलाई कसरी व्यवस्थापन गरिरहनु भएको छ ?
व्यक्तिगत र आर्थिक हिसाबले भन्ने हो भने वडाध्यक्ष हुँदा मलाई घाटा नै छ । किनकी यो जिम्मेवारीका कारण मैले आफ्नो व्यवसायमा समय दिन सकेको छैन ।
तर पनि जनप्रतिनिधि भइसकेपछि व्यक्तिगत नाफाघाटा भन्दा पनि जनताको समस्या प्रमुख कुरा हो र म यसलाईनै प्राथमिकतामा राख्छु । त्यसैगरी काम गरिरहेको छु ।
अहिले म प्रिन्टिङ प्रेस, क्रसर उद्योग, घरजग्गा कारोबार र राजश्व सम्बन्धी कामहरुमा पनि संलग्न छु । तर, ती सबै कामहरु समुहमा रहेकोले व्यवस्थापन गर्न धेरै गाह्रो भएको छैन ।
कोभिडको कारण विकास निर्माण कार्यलाई कतिको असर गर्यो ?
कोभिडको कारण हाम्रो स्थानीय तहमा खासै असर परेन । लकडाउनको समयमा पनि हामीले राति सामानहरु ल्याएर काम गर्यौं । सुरक्षाका मापदण्ड अपनाएर सम्पुर्ण कामहरु निरन्तर जारी राख्यौँ । सो कारण सम्भव भएसम्मको काम गरेर धेरै बजेट फ्रिज हुन दिएनौँ । साथै गुणस्तरमा पनि कमी हुन दिएका छैनौँ ।
पर्यटन विकासका लागि हालसम्म के के कार्यहरु भए ?
भक्तपुरमा सुर्यविनायक नगरपालिका मात्रै यस्तो नगरपालिका हो जसको पर्यटन क्षेत्रबाट आम्दानी गर्न सक्दैन । तर पनि हामी स्थानीय स्तरमा भएका श्रोत साधन प्रयोग गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्ने प्रयास गरेका छौं ।
हामीले अहिले घ्याम्पेडाँडा, रानीकोट, बोकाचोक गल्ली, केदारनाथ मन्दिर, डोलेश्वर मन्दिर, आशापुरी लगायतका क्षेत्रहरुमा आवश्यक पुर्वाधारहरु निर्माण गर्ने कार्यको थालनी गरिसकेका छौँ ।
साथै आन्तरिक वा बाह्य पर्यटकहरुका लागि होमस्टे लगायत सञ्चालनका लागि स्थानीयहरुमा हौसला प्रदान गर्ने र स्वरोजगार सिर्जना गर्ने गरी काम गरिरहेका छौँ ।
हालै भाइरल भएको प्लानिङको अवस्था कस्तो छ ? यसबाट केही आम्दानी हुन्छ ?
निजी क्षेत्रले जग्गा एकीकरण गरेर उक्त प्लानिङ निर्माण गरेको हो । उक्त प्लानिङमा स्थानीय तहको कुनै लगानी नभए पनि त्यसबाट राम्रो आम्दानी स्थानीय तहले गर्न सक्छ । सो योजनाबाट नगरपालिकालाई २० करोड रुपैयाँ बराबरको आम्दानी हुने सम्भावना छ ।
त्यहाँको जग्गाको सरकारी मुल्यांकन आनाको ६५ हजारदेखि १ लाख ६५ हजार रुपैयाँसम्म छ । बाटो पिच गरिसकेपछि उक्त जग्गाको न्युनतम मुल्य १० लाख रुपैयाँ मुल्यांकन हुन्छ । बैंकिङ कारोबार गर्ने लगानीकर्ताहरुको चार किल्ला गरेवापतको प्रतिआना ४ सय रुपैयाँ लिने गर्दछ । घर निर्माण भएपछि प्रति स्क्वायर फिट ११ रुपैयाँ कर लिन्छ । १ सय २७ रोपनी प्लानिङ भएको छ त्यसबाट २० करोड रुपैयाँ आम्दानी हुन्छ ।
बस्ती व्यवस्थापनको तथा घर जग्गाको प्लानिङको बिषयमा कस्ता कामहरु भएका छन् ?
हाल बस्ती व्यस्थपनको मुख्य विषय बनिरहेको छ । यसका लागि सम्भव हुन्छ भने नगरपालिकाले यसलाई व्यवस्थापन गर्नुपर्छ । हैन भने निजी क्षेत्रका व्यवसायीहरुलाई साथमा लिएर भए पनि यसको समाधान गर्नुपर्ने देखिन्छ ।
हिउँदमा किनेको जग्गा बर्खामा बगाउने स्थिति बनेको छ । जग्गा खरिदमा जनताहरुलाई एजेन्टहरुले फसाउने लगायतका समस्याहरु छन् । यसका साथै जग्गाको साँध–सीमानाको झगडा भइरहेको हुन्छ ।
यो समस्या समाधानका लागि यसका लागि नगरपालिकाले व्यवथित प्लानिङ गरेर व्यवस्थापन गर्नुपर्ने देखिन्छ । यसका लागि हाम्रो पहल जारी छ ।

वडाको आम्दानीको अवस्था चाँहि कस्तो छ ?
वडाको आम्दानी भनेको जनताबाट उठ्ने कर नै हो । जनघनत्व बढिरहेकोले करको दायरा पनि बढीरहेको छ । घरबाटो, घरनक्सा, चार किल्ला मालपोतबाट साउन महिनामा मात्रै ५१ लाख रुपैयाँ राजस्व उठेको छ ।
बाँकी रहेको कार्यकाल कसरी काम गर्नुहुन्छ ?
लामो समयसम्म जनप्रतिनिधिहरु नहुँदा रोकिएर बसेका कामहरु गर्ने कोशिस गर्यौ अहिलेसम्म । २० बर्षदेखि स्थानिय स्तरमा जकडिएर रहेका जनताका समस्याहरुलाई धेरै हदसम्म समाधान गर्ने काम भयो । अझै पनि जनताका नागरिकताका बिषय, जन्मदर्ताका बिषय, जग्गाका बिषय तथा नाता प्रमाणीत गर्ने बिषयका कामहरु बाँकि नै छन् । ति कामहरु निरन्तर गर्दै जाने र केहि गर्नैपर्ने कामहरु पहिचान गरेर तत्काल सम्भावना हुने कामहरु गर्छौँ ।
कार्यकाल सकियपछि कस्तो हिसाबले सक्रिय हुने योजना छ ? अब नगरपालिकाकै माथिल्लो पदमा उठ्ने योजना छ कि छैन ?
यसका लागि पहिलो कुरा त जनताले रुचाउनु पर्यो । जनताले रुचाए र पार्टीले टिकट दिनुपर्यो । यी दुवै कुरा भयो भने अगाडि र जनताको लागि थप काम गर्न तयार छु ।


