काठमाडौं । लगानी बोर्डले ११ औं वर्षमा प्रवेश गरेको छ । सिंहदरबारमा एक कार्यक्रम आयोजना गरेर बोर्डले स्थापनाको दशौं वार्षिकोत्सव मनाएको हो । लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको उक्त कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट लगायत सहभागी थिए ।
बोर्डले एक दशकको अवधिमा ८ खर्ब ३३ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । २७ वटा विभिन्न आयोजनाहरु स्वीकृत भएको छ भने ७ वटा ठूला आयोजनाको लागि एमओयू गरेको छ ।
यस्तै, बोर्डले दुईवटा परियोजना सम्झौता र दुईवटा लगानी सम्मेलन गरेको छ । ठूला आयोजनाअन्तरगत यस अवधिमा ३ सय ६० मिलियन अमेरिकी डलर बराबरको चीन–नेपाल संयुक्त लगानीको होङसी शिवम् सिमेन्ट कारखाना सञ्चालनमा आइसकेको छ । यसको दैनिक उत्पादन क्षमता छ हजार टन रहेको छ ।
यस्तै १४० मिलियन अमेरिकी डलर बराबरको चीन–नेपाल संयुक्त लगानीको हुवासिन सिमेन्ट नारायणी सञ्चालनको तयारीमा रहेको छ । यसको दैनिक उत्पादन क्षमता ३ हजार टन रहेको छ ।
यस्तै, १ खर्ब ४४ अर्ब अनुमानित लागतसहित ९०० मेगावाट क्षमताको अरुण तेस्रो र १ खर्ब १६ अर्ब अनुमानित लागतसहित ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली हाइड्रो पावर प्रोजेक्टको लागि परियोजना विकास सम्झौता भएको छ ।
भारत र नेपालको संयुक्त लगानीमा बन्न लागेको अरुण तेस्रोको ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाइएको छ । अरुण तेस्रोबाट सन् २०२३ मा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
बोर्डको दशौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले ‘पीपीपी’ मोडलमा अर्को ‘पी’ अर्थात् पिपुल थप्नुपर्ने धारणा राखे । आयोजना प्रभावित क्षेत्रका जनतालाई सहभागी नगराउँदा निर्माण प्रक्रियामा अवरोध हुने र आयोजनाको लागतसमेत बढ्ने गरेको छ । त्यसैले लगानीको ‘थ्री पी’ मोडललाई ‘फोर पी’ मा परिणत गर्नुपर्छ ।’
नेपालमा उपलब्ध तुलनात्मक रुपमा सस्तो श्रम शक्ति र अथाह प्राकृृतिक स्रोत साधन नै मुख्य पुँजी भएको भन्दै मन्त्री शर्माले त्यसको परिचालनमार्फत विकास र समृद्धिको यात्रालाई गति दिन लगानी बोर्डले उत्प्रेरकको रुपमा काम गर्नुपर्नेमा जोड दिए ।
लगानी बोर्डले एक दशकको अवधिमा आर्थिक विकास र समृद्धिका लागि ठूल–ठूला स्तरका लगानी भित्र्याउन संस्थागत आधार तयार गरेको उल्लेख गर्दै अब क्षेत्रीय साझेदारहरुसँगको लगानी सहभागीतालाई सुदृढ गरी वैश्विक आर्थिक मञ्चबाट लाभ उठाउनको प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे ।


