काठमाडौं । नेपालमा विद्युतीय सेवा दिने विदेशी कम्पनीको संख्या १८ पुगेको छ । सरकारले २ वर्षअघि गरेको नेपालमा विद्युतीय कारोबार गर्ने विदेशी कम्पनी दर्ता हुने व्यवस्थाअनुसार १८ वटा दर्ता भएका हुन् ।
आर्थिक वर्ष २०७९–८० मा ९ वटा मात्रै दर्ता भएकामा गत आवमा यस्तो संख्या १८ पुगेको आन्तरिक राजस्व विभाग अन्तर्गतको ठूला करदाता कार्यालयले जनाएको छ ।
दर्ता हुनेमा गुगल एसिया, एनसीएस पार्सन, लिंक्डइन, मेटा प्लेटफर्म, माइक्रोसफ्ट, अमेजन वेब सिरिज, अमेजन सर्भिस, गुगल आयरल्यान्ड, टिकटक, एडोब सिस्टम, नेटफ्लिक्स छन् ।
त्यसैगरी जोहो कर्पोरेसन, गुगल डिजिटल इंक, प्रोम्याट्रिक जापान कम्पनी, इब्स्को इन्टरनेसनल इंक, एप्पल डिस्ट्रिब्युसन इन्टरनेसनल लिमिटेड, पिअर्सन एजुकेसन लिमिटेड, एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स दर्ता छन् ।
एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) बेलायती कम्पनी हो । यसले व्यावसायिक कम्पनीहरुको ब्यालेन्स सिट बनाउँछ । त्यसबाट डिजिटल कामबाट गरेको आम्दानीको कर कम्पनीले तिरिरहेको छ ।
पिअर्सन एजुकेसन लिमिटेड पनि नेपालमा दर्ता भएको छ । किताबहरु बिक्री वितरण गर्ने उद्देश्यले दर्ता भए पनि कम्पनीले कारोबारको विवरण पेस गरेको छैन। इब्स्को इन्टरनेश्नलले अनुसन्धानमूलक तथ्यांक र ई–बुक उपलब्ध गराउँछ ।
जोहो कर्पोरेसन भारतीय बहुराष्ट्रिय प्रविधि कम्पनी हो । भारतको चेन्नाईमा मुख्य कार्यालय रहेको कम्पनीले नेपालमा ललितपुरमा कार्यालय खोलेको छ । यसले क्लाउड सर्भिस र परामर्शदाताको रुपमा काम गर्दै आएको छ ।
यस् कम्पनीहरुबाट गत आर्थिक वर्षमा भ्याटबाट ३५ करोड ८५ लाख ४४ हजार रुपैयाँ संकलन भएको छ । त्यस्तै, डिजिटल सेवा कर ६७ लाख ९३ हजार रुपैयाँ संकलन भएको छ । त्यसमध्ये, मेटा प्लेटफर्मबाट मात्रै १७ करोड १० लाख रुपैयाँ राजस्व सरकारले लिएको छ । ठूला करदाता कार्यालयमा दर्ता हुनेमा गुगलले ५ करोड रुपैयाँ तिरेको छ ।


