उदयपुर । सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ । आज बिहान सो सडकखण्डमा पर्ने कटारी नगरपालिका–१४ को भलुवानीमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईंका अनुसार, गएराति ठूलो पहिरो गएकाले सडक अवरुद्ध भएको हो । सुरक्षाकर्मीको टोली पहिरो गएको स्थानमा पुगिसकेको बताइएको छ । स्काभेटर, जेसिवीले मात्रै तत्काल अवरुद्ध सडक हटाउन सम्भव नहुने भएपछि ओखलढुङ्गाको हर्कपुरमा रहेको सडक कार्यालयसँग समन्वय गरी ठूलो लोडर मगाइएको जनाइएको छ ।
कटारी–१४ का वडाध्यक्ष अम्बरबहादुर मगरले एक सय ५० मिटरभन्दा बढी सडक पहिरोले पुरेको बताए । सडक अवरुद्ध भएपछि दशै मान्न पहाडी जिल्ला खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु जाने र पहाडी जिल्लाबाट तराई क्षेत्रमा आउने यात्रु अलपत्र परेका छन् ।