images
images

काबेली करिडोर प्रसारण लाइनको पुन : निर्माण धमाधम, तिहारअघि सञ्चालनमा ल्याउने तयारी


  • 402
    SHARES
  • २०८१ कार्तिक ३ गते शनिबार

    काबेली करिडोर प्रसारण लाइनको पुन : निर्माण धमाधम, तिहारअघि सञ्चालनमा ल्याउने तयारी
     
    काठमाडौं । इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनःनिर्माण धमाधम भइरहेको छ ।
     
    नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाले संयुक्त रुपमा प्रसारण लाइन पुनःनिर्माण  तथा पुनःस्थापनाको काम गरिरहेका छन् । प्रसारण लाइन पुनःनिर्माण तथा पुनःस्थापना तिहारअघि नै सम्पन्न गर्ने गरी काम भइरहेको जनाइएको छ ।  
     
    प्राधिकरणले प्रसारण लाइनका पाटपूर्जालगायतका सामग्रीहरु उपलब्ध गराएको छ । निजी क्षेत्रका जलविद्युत् आयोजनाले श्रम लागतलगायतका खर्च बेहोरहेका छन् । यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका छन् । प्राधिकरण र निजी क्षेत्रले संयुक्त रुपमा नमुनाका रुपमा पुनःनिर्माण अगाडि बढाएका हुन् । निजी क्षेत्रले ऊर्जा उद्यमी मोहन कार्कीको नेतृत्वमा टोली खटाएका छन् ।
     
    गत असोज १२ गते शनिबार माईखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर १ र ७ धोद्रेबेंसीमा ४ वटा टावरमा क्षति पुर्याएको थियो ।
     
    ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका २० वटा जलविद्युत् आयोजनाहरुको करिब २०० मेगावाट विद्युत् प्रवाह हुने काबेली प्रसारण लाइनमा क्षति पुगेपछि १२ असोजबाट उक्त आयोजनाहरुबाट विद्युत् उत्पादन बन्द छ । विद्युत् उत्पादन बन्द हुँदा निजी क्षेत्रका जलविद्युत् आयोजनाले दैनिक रुपमा आम्दानी गुमाइरहेका छन् ।
     
    काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको  खण्डको धोद्रेबेंसीमा ५०, ५१, ५२ र ५३ नम्बर टावरमा बाढीका कारण क्षति पुगेको थियो । उक्त स्थानबाट प्रसारण लाइनलाई माईखोला पार गराएको थियो । उक्त स्थानमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर रहेको छ ।
     
    चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्ण रुपमा क्षति पुर्याएको थियो । अहिले पूर्ण रुपमा क्षति पुर्याएको टावरको जग हाल्ने काम भइरहेको छ । टावरका सम्पूर्ण पाटपूर्जाहरु निर्माणस्थलमा ढुवानी भइसकेको छ । साथै ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको थियो । ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको थियो । ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको थियो । दुवै टावरको मर्मत सकिएको छ ।
     
    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार पुनःनिर्माणस्थलको अनुगमन गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
     
    “काबेली करिडोर प्रसारण लाइन बन्द हुँदा मुलुकको एकीकृत विद्युत् प्रणालीकै विश्वसनीयता प्रभावित भइरहेको छ, निजी क्षेत्रका जलविद्युत् आयोजनाहरुले दैनिक रुपमा ठूलो आम्दानी गुमाइरहेका छन्, उत्पादन बन्द हुँदा भारतर्फको विद्युत् निर्यात प्रभावित भइरहेको छ”, कार्यकारी निर्देशक घिसिङले भने ।  
     
    निजी क्षेत्रका तर्फबाट पुनःनिर्माणमा खट्नु भएका कार्कीले सम्पूर्ण काम सकेर तिहारअघि नै विद्युत् प्रसारण सुरु गर्ने गरी काम भइरहेको बताए ।


    images

    Logo