images
images

‘इआरएस टावर’ प्रयोग गरी खिम्ती–लामोसाँघु प्रसारण लाइन सञ्चालन


  • 375
    SHARES
  • २०८१ कार्तिक ९ गते शुक्रबार

    ‘इआरएस टावर’ प्रयोग गरी खिम्ती–लामोसाँघु प्रसारण लाइन सञ्चालन

    काठमाडौं । गत असोज ११ र १२ को अविरल वर्षाका कारण तामाकोसी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु एक सय ३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनःस्थापना प्रणाली ( इआरएस) प्रयोग गरी सञ्चालनमा ल्याइएको छ । 

    नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता एवं भारप्रेषण केन्द्रका निर्देशक चन्दनकुमार घोषले आज दिउँसादेखि सो प्रसारण लाइन चार्ज गरी सञ्चालनमा ल्याइएको बताए ।   

    तामाकोसी नदीको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको सात नम्बर टावर बगाएको थियो । टावर बगेपछि चार वटा टावरको तार (कन्डक्टर)मा पनि क्षति पुगेको थियो । टावर बगाएपछि उक्त लाइनबाट गत १३ असोजबाट विद्युत् प्रवाह बन्द हुँदा खिम्तीबाट काठमाडौं उपत्यकाको प्रसारण लाइन टुटेको थियो । 

    उक्त लाइनबाट करिब दुई सय मेगावाट विद्युत् प्रवाह हुने गरेको छ । खिम्ती–लामोसाँघु काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति हुने महत्वपूर्ण प्रसारण लाइन हो । उक्त लाइनको विद्युत् लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौं उपत्यकामा आपूर्ति गरिन्छ । 

    यसैगरी, सिन्धुपाल्चोकको भोटेकोसी नदी जलाधार क्षेत्रमा निर्माण गरिएको जलविद्युत् आयोजनाको विद्युत् लामोसाँघु–खिम्ती–ढल्केबर हुँदै भारततर्फ निर्यात हुँदै आएको छ । लाइनमा क्षति पुगेपछि विद्युत् निर्यातसमेत प्रभावित भइरहेको थियो । 

    हाल इआरएसमार्फत लाइन सञ्चालन गरी बाढीले बगाएको टावरको सट्टा अर्को स्थायी टावर निर्माण प्रक्रिया सुरु भइसकेको जनाइएको छ । प्राधिकरणले आफैैँसँग रहेको इआरएस संरचनाको प्रयोग गरी खिम्ती–लामोसाँघु १ सय ३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको हो । 

    इआरएस टावर राख्न लागेपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै काममा अवरोध गरेका थिए । स्थानीयसँग सहमति जुटाएर इआरएस टावर राखिएको प्राधिकरणले जनाएको छ ।  


    images

    Logo