काठमाडौं । मंगलबार नेपाल बैंकर्स संघले काठमाडौंको होटल र्याडिसनमा आफ्नो वार्षिक साधारणसभा सम्पन्न गर्यो । नेतृत्व चयन समेतको कार्यक्रम रहेको उक्त साधारणसभामा बैंकिङ क्षेत्रको नियामक निकायको प्रमुखको हैसियतमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रमुख अतिथि थिए । देशको बैंकिङ क्षेत्रमा ८८/८९ प्रतिशत योगदान गर्ने बैंकिङ क्षेत्रका सबैजसो कार्यकारी प्रमुखको सहभागितामा गभर्नर अधिकारीले लिखित मन्तव्य दिएका थिए ।
गभर्नर अधिकारीको एउटा विशेषता छ, उनी जुनसुकै प्रकारको संवाद र प्रतिक्रियाका लागि पनि निकै मिजासिलो रुपमा प्रस्तुत हुन्छन् । कार्यक्रममा झन्डै ८ मिनेट लामो श्रुतिमधुर मन्तव्य दिएका गभर्नरको लिखित मन्तव्यमा उल्लेखित शब्दहरु भने निकै कडा अर्थ राख्ने खालका थिए । उनले सो वक्तव्यमार्फत् बैंकर्स र बैंकिङ क्षेत्रलाई देहाय बमोजिम सन्देश दिन खोजेका थिए ।
१. अत्तालिने प्रवृत्ति त्याग्नुस्
अहिले बैंकिङ क्षेत्र तरलता र लगानी गर्ने पुँजीको अभावको अवस्थामा छ । बैंकरहरुको कुरा सुन्ने हो भने यसलाई एउटा चरम संकटकै अवस्था मान्न सकिन्छ ।
यद्यपि गभर्नरले भने यसलाई अलिकति वास्तविक समस्या र धेरै बैंकरहरुको हडबडाहटको परिणाम मानेका छन् । उनले बैंकरहरुलाई यो प्रवृत्ति त्याग्न सुझाव समेत दिएका छन् । उनले महामारी नियन्त्रणपछि एकैपटक बढेको आयात र सोचेअनुसार बढ्न नसकेको रेमिट्यान्सका कारण सिर्जित बाह्य क्षेत्रको असन्तुलनलाई अहिलेको समस्याको वास्तविक कारण भनेका छन् ।
त्यस्तै, नेपाल राष्ट्र बैंकले लिएको कर्जा रिपेमेन्टको सहुलियतपूर्ण नीति र महामारी नियन्त्रणसँगै एकैपटक बढेको आन्तरिक कर्जाको मागका कारण पनि नयाँ कर्जा विस्तार हुन नसकेको उनको तर्क छ । समयमा सरकारी खर्च नहुँदा यसले पनि तरलतामा समस्या आएको उनको भनाइ छ ।
तर, बैंकिङ क्षेत्रको अत्तालिने प्रवृत्ति कारण यो समस्या गहिरिएको उनको भनाइ छ । आर्थिक वर्षको सुरुमै बैंकिङ क्षेत्रको बैंकहरुले ३२ प्रतिशत व्यवसाय विस्तार गरेको भन्दै यसलाई उनले घाँटी हेरेर हाड ननिल्दाको परिणाम भनेका छन् ।
बैंकिङ क्षेत्रका व्यक्तिहरुको अत्तालिने प्रवृत्तिलाई उनले अर्को कारण मानेका छन् । बैंकिङ क्षेत्रमा थोरै तरलता समस्या हुँदा ब्याजदर प्रतिस्पर्धामा उत्रिने र थोरै खुकुलो हुँदा ब्याजदर घटाइहाल्ने प्रवृत्ति अहिलेको समस्याको मुख्य कारण रहेको भन्दै उनले बैंकरहरुलाई यो प्रवृत्ति त्याग्न भनेका छन्
२. प्रतिस्पर्धाबाटै मूल्य तय होस्
गभर्नर अधिकारीले बैंकहरुले स्वस्थ प्रतिस्पर्धामार्फत् ब्याजदर बढाउन पाउने संकेत गरेका छन् । राष्ट्र बैंकले ९.३६ प्रतिशत भन्दा बढी ब्याजदर नलिन मौखिक निर्देशन दिएर कार्यान्वयन भइरहेको अवस्थामा उनले ब्याजदर बढाउन दिने संकेत गरेका हुन् ।
तर, निक्षेप र कर्जाको ब्याज अनुमानयोग्य हुनुपर्ने भन्दै उनले अस्वस्थ प्रतिस्पर्धामा नउत्रिन बैंकरहरुलाई घुमाउरो शैलीमा चेतावनी दिए ।
३. हस्तक्षेप बाध्यकारी हो, अझै बाध्य नपार्नुस्
अहिले राष्ट्र बैंकले लिएको ब्याजदर नियन्त्रणसम्बन्धी निर्देशनलाई गभर्नर अधिकारीले बाध्यकारी कदम मानेका छन् । उनले नियामक निकाय सहजमर्ताको भूमिकामा मात्रै रहन चाहेको भन्दै नियामकलाई हस्तक्षेपकारी बन्ने वातावरण सिर्जना नगर्न उनले बैंकरहरुलाई प्रष्ट सन्देश दिएका छन् ।
४. धेरै लाभको अपेक्षा नगर्नुस्
अधिकारीले बैंकिङ क्षेत्र एउटा व्यवसा भए पनि यो अरु व्यवसायभन्दा विशिष्ठ रहेकोले त्यही अनुसार व्यवहार गर्न निर्देशन दिएका छन् । अरु व्यवसाय अधिकतम लाभ लिने प्रतिस्पर्धामा हुने भए पनि बैंकिङ क्षेत्र यो दौडमा रहन नहुने उनको भनाई छ ।
५. घुमाइफिराइ शुल्क लिने प्रवृत्ति त्याग्नुस्
अधिकारीले बैंक तथा वित्तीय संस्थाले ग्राहकमाथि लगाउँदै आएको शुल्क तथा कमिसनमा समेत प्रश्न उठाएका छन् । बैंकहरुले ग्राहकसँग घुमाइफिराइ शुल्क उठाउने गरेको भन्दै उनले भने, ‘यो प्रवृत्ति राम्रो होइन ।’
६. हामी अन्तरयामी होइनौं
नियामकको रुपमा नेपाल राष्ट्र बैंक रहे पनि राष्ट्र बैंकको आफ्नै सीमितता रहेको उनको भनाइ छ । वित्तीय क्षेत्रमा देखिने समस्या र त्यसको न्यूनीकरणका प्रयासमा बैंकिङ क्षेत्र आफैं लाग्नुपर्ने भन्दै नियामक निकाय अन्तरयामी नभएको उनको सन्देश छ ।
७. बैंकर्स संघले पुलको काम गरोस्
गभर्नर अधिकारीले उल्लेखित सबै समस्या समाधानका लागि राष्ट्र बैंक र बैंकिङ क्षेत्रको प्रयासमा नेपाल बैंकर्स संघ बैंक र राष्ट्र बैंकबीचको पुलको भूमिकामा रहनुपर्ने बताए ।


