images
images

मुग्लिन–पोखरा सडक स्तरोन्नति : ७३ किलोमिटर कालोपत्र


  • 415
    SHARES
  • २०८१ चैत्र १ गते शुक्रबार

    मुग्लिन–पोखरा सडक स्तरोन्नति : ७३ किलोमिटर कालोपत्र

    दमौली । मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३.११ किलोमिटर कालोपत्र सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन गरी ७३.११ किलोमिटर दूरीमा कालोपत्र भएको हो । 

    पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यो खण्डमा चार लेनतर्फ ३४.९८ र दुई लेनतर्फ ३.१५ किलोमिटर दूरीमा कालोपत्र सकिएको छ । पाण्डेले भने, “हालसम्म कालोपत्र भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३.११ किलोमिटर दूरी कालोपत्र भएको छ ।”

    गत फागुन १६ गतेसम्म यस खण्डको भौतिक प्रगति ७८.९५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५९.२५ प्रतिशत छ । पाण्डेका अनुसार यस खण्डमा चार लेनतर्फ २०.१६ किलोमिटर दूरीमा अन्तिम कालोपत्रसमेत भइसकेको छ भने दुई लेनतर्फ १२.३२ किलोमिटर खण्डमा अन्तिम कालोपत्र सकिएको छ । 

    पूर्वी खण्डअन्तर्गत यतिबेला सदरमुकाम दमौली बजारमा समेत कालोपत्र सुरु भएको छ । दमौलीस्थित व्यास नगरपालिका–२ बागबजारमा एकतर्फी कालोपत्र सकेर अर्कोतर्फ कालोपत्रका लागि सडक सम्याउने काम भइरहेको छ । पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । 

    २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा लागेको छ ।

    मादी पुलमा ६५ प्रतिशत प्रगति

    व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन पुलमा ६५ दशमलव ०७ प्रतिशत भौतिक प्रगति भएको छ । मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत मादी नदीमाथि निर्माणाधीन पुलमा हालसम्म ६५.०७ प्रतिशतभन्दा प्रगति भएको हो । त्यस्तै ५२.४३ प्रतिशत आर्थिक प्रगति भएको आयोजनाले जनाएको छ । 

    पुल निर्माणले गति लिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । उक्त पुलमा छ वटा स्पान हुनेछन् । तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले १ अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । उक्त पुलको ठेक्का जेडआइष्ट अन्नक जेभीले पाएको छ । 

    पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल ३ सय ७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।


    images

    Logo